राजपा तालमेलतिर



 

बीपी साह, काठमाडौं

नीय निकायको तेस्रो चरणको निर्वाचनमा सहभागी भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केन्द्रबाट कुनै पनि दलसँग सहकार्य नगर्ने जनाएको छ। तर स्थानीयस्तरमा आवश्यक परेको खण्डमा सहकार्य हुनेछ।
राजपाका संयोजक महन्थ ठाकुरले केन्द्रमा कुनै दलसँग सहकार्य नहुने स्पष्ट पार्नुभएको छ। शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले आफूहरु सबल रहेको र आफूहरुसँग सक्षम उम्मेदवारहरु रहेकाले कुनै पार्टीसँग सहकार्य नगर्ने बताउनुभएको छ।

तर राजपाका महासचिव मनिष सुमनले केन्द्रमा कुनै दलसँग सहकार्य नभएपछि स्थानीयस्तरबाटै सहकार्य हुन सक्ने नेपाल समाचारपत्रलाई बताउनुभयो। सुमनले भन्नुभयो– ‘हामीले केन्द्रबाट कुनै दलसँग सहकार्य गर्दैनौं। तर स्थानीय प्रतिनिधिहरुले चाहेको खण्डमा स्थानीयस्तरमै तालमेल गर्न सक्छन्। तर, स्वयं आफूहरुले जित्न सक्ने स्थानमा तालमेल हुँदैन।’

यता पार्टीभित्र टिकटका लागि तीव्र प्रतिस्पर्धा हुँदै छ। छवटा पार्टी एकीकरणपछि बनेको राजपाभित्र अधिकांश स्थानमा एउटै पदमा छवटा उम्मेदवार देखिएका छन्। स्थानीयस्तरबाट उम्मेदवार चयन गर्न शुक्रबारदेखि नै छलफल जारी रहेको छ। केन्द्रबाट धनुषाका लागि प्रतिनिधि खटाइएका अरुण सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छलफल जारी रहेको छ। उम्मेदवारहरुले दाबी गर्दै छन्। हामीले नाम संकलन गर्दै छौं। यहाँ त्यस्तो कुनै विवाद छैन।’

तर पर्साको वीरगन्जमा विवाद भएको छ। राजेशमान सिंह पक्षधर र विमल श्रीवास्ताव पक्षबीच विवाद भएको हो।

त्यस्तै, रौतहटमा पनि उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भएको रौतहटका प्रतिनिधि सत्यनारायण मण्डलले बताउनुभएको छ। अन्य जिल्लाहरुमा पनि उम्मेदवारबीच प्रतिस्पर्धा जारी रहेको छ।

शनिबार स्थानीयस्तरबाट उम्मेदवारको नाम संकलन हुँदै छ भने आइतबार स्थानीयस्तरमै टुंगो लगाउने प्रयास हुनेछ।

त्यस्तै, सहमति नभएको स्थानमा सोमबार जिल्ला स्तरबाट टुंगो लगाइनेछ। जिल्लाबाट टुंगो लाग्न नसकेका उम्मेदवारहरूलाई मंगलबार अध्यक्ष मण्डलले टुंगो लगाउनेछ। उम्मेदवारको चाप हेर्दा केन्द्रबाटै उम्मेदवारहरूको टुंगो लाग्न सक्ने सम्भावना रहेको छ। आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजपा निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। राजपाको दल दर्ता नम्बर ५५ रहेको टोलीमा रहेका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताउनुभयो। सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुँदै छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ। आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेको आयोगले जनाएको छ। दल दर्ता गर्ने क्रममा राजपाका नेताहरूले प्रदेशसभा र राष्ट्रियसभामा छाता चुनाव चिह्न दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्