खुला दिसामुक्त बनाउने अभियानमा तीव्रता



 

कपिलवस्तु, (नेस)
शिवराज नगरपालिकालाई आगामी मंसिर २५ गते खुला दिसामुक्त नगर घोषणा गरिने लक्ष्यकासाथ सरसफाइ जनजागरण अभियानलाई तीव्रता दिइएको छ।

‘शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाइ तथा स्वच्छता जागरण अभियान’ मूल नारा लिएर नगरपालिकाले जनजागरण अभियानमा जुटेको हो। शिवराजलाई खुला दिसामुक्त बनाउन शिवराजले नगर स्वच्छता समन्वय समिति (एम–वास–सीसी) गठन गरी अभियानलाई अघि बढाएको छ। एम–वास–सीसीको अध्यक्षमा नगरप्रमुख नेत्रराज अधिकारी रहेका छन् भने व्यापार संघका अध्यक्ष महादेव पोखरेललाई एम–वास–सीसीको कार्यदल संयोजकको जिम्मा दिइएको बताइएको छ।

तोकिएकै समयभित्रै सिंगो नगरलाई नै खुला दिसामुक्त बनाउन शिवराज नगरपालिकाले शनिबार पहिलोपटक वडा नम्बर ८ जवाभारीमा सरसफाइ जनजागरण अभियान सञ्चालन गरेको छ। बिहान ७ बजेदेखि जवाभारी गाउँको सडक, गल्ली, बाटो, विद्यालय, मन्दिर परिसर सरसफाइ गरिएको थियो। सरसफाइ कार्यक्रममा जनप्रतिनिधिसहित, सशस्त्र, जनपथ प्रहरी, राजनीतिक दल, विभिन्न संघसंस्था, स्थानीय क्लब, समूह, सञ्जालका प्रतिनिधिले हातमा झाडु, कुचो, बेल्चा, कोदालो, हँसिया लिएर सरसफाइमा जुटेका थिए।

सरसफाइपछि आयोजित सभामा नगरप्रमुख एवं एम–वास–सीसीका अध्यक्ष नेत्रराज अधिकारीले सरसफाई आफैबाट शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो। ‘जबसम्म व्यक्तिले आफ्नो व्यक्तिगत सरसफाइ, घरआँगन सफासुग्घर र शौचालय निर्माण र प्रयोग गर्दैन तबसम्म अभियानले सार्थकता पाउँदैन।’ –नगरप्रमुख अधिकारीले भन्नुभयो। कात्तिक ६ गतेभित्र सबैले घरमा अनिवार्य शौचालय बनाउनुपर्ने उहाँले जिकिर गर्नुभयो। शौचालय नबनाउनेलाई नगरपालिकाबाट दिइने सेवासुविधासमेत रोक्का गरिने अधिकारीले चेतावनीसमेत दिनुभयो।

प्रतिक्रिया दिनुहोस्