वडा अध्यक्षको अन्त्येष्टि



 

मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीका वडा अध्यक्ष राजन कोइरालाको अन्त्येष्टि सम्पन्न भएको छ।

साताअघि भदौ ४ गते आइतबार साँझ घर जाने क्रममा बाटोमा अचेत अवस्थामा फेला परेका कोइरालाको उपचारकै क्रममा शुक्रबार राति ११ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। उनको आक्रमण के कारण? कसले गर्यो? रहस्यमै रहेको कोइरालाका आफन्त तथा प्रहरीले जानकारी दिएको छ। ४७ वर्षीय कोइरालाका तीन छोरा छन्। २०४८ सालदेखि नेकपा एमालेको संगठित सदस्य लिएर पार्टीका विभिन्न कमिटीहरूमा सक्रिय कोइरालाले केही समय स्थानीय विद्यालयमा शिक्षण पेसा गरेका थिए।

शिक्षण पेसामै क्रियाशील कोइराला रविओपीमा रहेको सेतिदेवी दुग्ध उत्पादक सहकारीको झन्डै २० वर्ष प्रबन्धक थिए। प्रबन्धक हुँदाहुँदै कोइरालालाई पार्टीले वडा अध्यक्षको टिकट दिएको थियो। नेपाली कांग्रेस र नेकपा माओवादी मिल्दा पनि कोइराला एक्लैले ९० प्रतिशत मत ल्याएर विजयी भएका थिए।

उनको अन्त्येष्टिमा एमाले केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, एमाले काभ्रे अध्यक्ष एवं मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबा, उपाध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जु, पनौती नगर प्रमुख भीमप्रसाद न्यौपानेलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनलाई श्रद्धाञ्जलि व्यक्त गर्न रविओपी, देविटार र आसपासका सयौं सर्वसाधारण आर्यघाटमा भेला भएका थिए भने स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरू सहभागी भएका थिए। पार्टीका नेता तथा कार्यकर्ताहरूले उनको निधनप्रति शोक व्यक्त गर्दै तत्काल हत्याराको छानविन गर्न माग गरेका थिए। घटनाको सात दिन बितिसक्दासमेत कोइरालाको हत्या के कारण भयो? मृत्युको कारण के हो? खुल्न सकेको छैन।

नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका कोइरालाको उपचारमा संलग्न चिकित्सक डा. जेमेश महर्जनका अनुसार कोइरालाको टाउको र छातीनिरको हड्डीमा लागेको चोट कडा ठक्करबाट भएको हो। ‘उनी धेरै अग्लो पहाडबाट खस्दा मात्रै उक्त चोट लाग्न सक्छ, नत्र कसैको गहकिलो ठोक्काइबाट मात्रै यस्तो घटना हुन सक्छ’, डा. महर्जनले भने– ‘कोइरालाको ब्रेनमा भएका र वरपरका सबै हड्डीहरू फुटेका छन्, आँखाका नानीहरूमा समेत असर पुगेको छ, साथै बायाँ छातीनिरको हड्डीसमेत फुटेको छ।’ टाउको भित्रको हड्डीसमेत फुट्ने घटना एकदमै कम अवस्थामा हुन सक्ने उनले बताए।

गत आइतबार साँझ सेतिदेवी दुग्ध उत्पादक सह
कारी संस्थामा दूध विक्री गरेर घर फर्कंदै गर्दा रविओपीको छापको खोल्सानजिक कोइरालाको कुलदेवता मन्दिरनजिक लडिरहेको अवस्थामा भेटिएका थिए। दूध विक्री गरेर फर्किएका कोइरालाको हातमा मोबाइलको लाइट बालिएको, दूधको खाली क्यान बोकिएको र तेलसमेत थियो।

वायाँ कान फाटेको र सोही ठाउँ नजिकैको गिदी रहने भागमा हड्डीसमेत फुट्ने गरी चोट लागेको अवस्थामा भाइ जगन्नाथ कोइरालाले राति ८ बजेतिर देखेपछि मात्रै उक्त घटनाका बारेमा जानकारी भएको थियो।

७ बजे घरबाट श्रीमतीले फोन गरेर तेल लिएर चाँडै आउन भनेपछि वडा अध्यक्ष कोइराला डेरीबाट चाँडै फर्किएका थिए। फर्कने क्रममा उनको साथमा एकजना बच्ची थिइन्। उनी एक सय मिटर वरै घरका अन्य सदस्यलाई कुरेर बसिन्। कोइराला एक्लै झरिरहेका थिए।

घर पुग्न झन्डै चार सय मिटर मात्रै बाँकी हुँदा उनी लडेको अवस्थामा फेला परेका हुन्। ‘शुरूमा त मैले कोही मादकपदार्थ सेवन गरेर ढलिरहेको होला भनेर नउठाई जान खोजें’, भाइ जगन्नाथले भने– ‘दूधको क्यान, मोबाइलको लाइटसमेत बलेको देखेपछि गएर हेर्दा वडा अध्यक्षसमेत रहेका दाइ राजन रहेछन्।’ तत्कालै स्थानीयलाई बोलाएर उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको थियो।

धुलिखेल अस्पतालले नर्भिक अस्पतालमा रिफर गरेपछि सोमबार बिहान ३ बजेमात्रै टाउकोको अप्रेसन भएको थियो। कोइराला लडिरहेको स्थान वरिपरि ढुंगासमेत भएको, खोल्साको नालामा धारिलो ढुंगा देखिएको भए पनि एक साइडमा मात्रै गम्भीर चोट भएकाले घटना शंकास्पद भएको प्रहरी अनुसन्धानले बताएको छ।

धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले नगरपालिकाका वडा अध्यक्षको अनपेक्षित घटनाप्रति शोक व्यक्त गर्दै नेपाल सरकार र स्थानीय प्रशासनलाई अनुसन्धान गरी यथार्थ उजागर गर्न माग गरेका छन्।
घटना कसरी, कसले, किन र कोबाट गराइएको हो भन्ने आम जनतालाई चासो भएकाले त्यसको उजागार गर्न तथा जनप्रतिनिधिको सुरक्षा र जनताको शान्ति र अमन चयनमा राज्यको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्