खुल्यो रुइला नाका, खाद्यान्न लिन हिमालपारिका गोरखाली तिब्बतको कुम्दाङ बजारमा



 

सन्तोष अधिकारी, गोरखा
वर्षभरिका लागि खाद्यान्न लिन हिमालपारिका गोरखालीहरू तिब्बत गएका छन्। जिल्लाको चुमनुब्री गाउँपालिकाका स्थानीयहरू आफ्नो चौंरी, खच्चड र झोपा लिएर खाद्यान्न लिन तिब्बतको कुम्दाङ बजार गएको सामागाउँका वडा अध्यक्ष वीरबहादुर गुरुङले जानकारी दिए। गोरखालीहरूले कुम्दाङको बजारमा वन लसुन तथा विभिन्न जडीबुटीहरू लगेर बिक्री गरी सोही पैसाले खाद्यान्न किनेर ल्याउने गर्छन्।

‘हिजोदेखि गाउँलेहरू तिब्बत जान थालेका छन्’, गुरुङले भने– ‘तिब्बती बजार गएकाहरूले मैदा, करुको पिठो, चिनी, चियापत्ती, तेल, नुन तथा चामलजस्ता दैनिक उपभोग्य खाद्यान्नहरू ल्याउँछन्। सामान बोकाउन कोहीले झोपा, कोहीले चौंरी कोहीले खच्चड लिएर गएका छन्।’ व्यापारीहरूले भने व्यापारिक प्रयोजनका लागि चिनी, चियापत्ती, जुत्ता चप्पल, कब्बल, बियर, तेल, मैदा, करुको पिठो, बिस्कुटजस्ता सामग्रीहरू खरिद गरी ल्याउने गर्दछन्। मनास्लु पदमार्ग तथा हिमाल आरोहण गर्न आएर सोही क्षेत्रमा बसोबास गर्ने हुनाले त्यहाँ होटल व्यवसायीहरू पनि धेरै छन्।

तिब्बती बजारमा नुनदेखि सुन लिन अहिले उत्तरी गोरखाका प्रत्येक घरको एक जनाको दरले गएको गुरुङले बताए। सो नाका नेपाल सरकारको आग्रहमा चीन सरकारले वर्षमा दुईपटकसम्म खुल्ने गरेको छ। नाका खोल्नेबारे बिहीबार तिब्बती बजारका मुखियाले गोरखापट्टिका मुखियालाई खबर गरेर जानकारी दिएको सामागाउँ प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी भेषराज रिजालले जानकारी दिए। नाका खुलेसँगै सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्चेत र छेकम्पार क्षेत्रका सर्वसाधारणहरू तिब्बत गएका हुन्। सामागाउँबाट एक दिनमा नै पुग्न सकिने उक्त नाकामा अहिले चाइनाले कच्ची सडक खोलिदिएको छ। नाकासम्म पुग्न भने गोरखालीले जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्