तीजको काइदा



 

तीज हिन्दू नारीको महान् चाड हो। यसपालिको तीज सकिएको पनि छ। सकिए पनि धरहराको दूरबीनमा छायांकन भएको एउटा दृश्य देखाउन धरहरा चाहन्छ। भगवान् शिवको आस्था राखेर मनाइने यो चाड विशुद्ध मौलिक नेपाली संस्कृतिसँग जोडिएको पर्व हो। समयको परिवर्तनसँगै यो पर्व मान्ने शैलीमा पनि धेरै परिवर्तन आइरहेको छ। सबैले आ–आफ्नै तौरतरिकाले तीज मान्दै आएका छन्।

यही तीज मनाउने क्रममा धराहराले एउटा अनौठो दृश्य देखेको छ। त्यो दृश्य हो काठमाडौंको एउटा अस्पतालमा नर्सहरूले मनाएको तीज। अस्पताल भनेको एउटा आकस्मिक क्षेत्र। बिरामीको उपचार गर्ने ठाउँ।

जहाँ हुन्छ त केवल उपचार। तर त्यही संवेदनशील ठाउँमा होहल्ला गरी तीज मनाउने नाउँमा ठूल्ठूलो स्वरमा गीत बजाएर नाचगान गर्दै गरेको अनौठो दृश्य देख्नुपरेको छ। उक्त अस्पतालभित्र जाँदा बिरामीहरू बेडमा थला परिरहेको, कसैको स्लाइन पानी सकिएको, कसैको रगत चढाउने समय भएको तथा अरु बिरामी सेवा नपाएर मर्का परेको अनि अलपत्र परेको देखिन्छ।

धराहरा नर्सहरूले तीज मनाउन हुन्न भन्ने पक्षमा पक्कै पनि छैन। तर, नर्सजस्तो बिरामीको चौबिसै घण्टा सेवा गर्न तत्पर हुनुपर्नेहरू यसरी बिरामीलाई अलपत्र बनाउँदै यसरी अस्पतालमै नाचगान गर्दै तीज मनाउनुलाई के भन्ने होला ? पाठकहरूलाई केही भन्नु छ कि ?

प्रतिक्रिया दिनुहोस्