नेपाल समाचारपत्र, रामेछाप ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले अध्याँरो रामेछापलाई उज्यालो बनाउने बताएका छन् । उनले रामेछापमा विद्युतीकरण हुन बाँकी क्षेत्रको लागि१ अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेकाले अब रामेछापवासीले अध्याँरोमा बस्न नपर्ने बताएका हुन् ।

मन्थली नगरपालिका–४ सालु वडा कार्यालयको उदघाटन गर्दै गृहराज्य मन्त्री श्रेष्ठले संविधान अनुसार जनताको हक अधिकार स्थानीय तहमा नै ग्यारेन्टी गरिएको बताए । सरकारले जनतालाई प्रदान गर्ने सेवा सुविधालाई प्राथमिकता राखेर काम थालेको बताउदै उनले जनतालाई सहज ढंगले सेवा सुविधा प्रदान गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । संविधानसभाबाट जारी भएको संविधानको अधिकारले जनतालाई अधिकार सम्पन्न बनाएको बताउदै अब देशको समृद्धिको सुरुवात स्थानीय तहबाट हुने मन्त्री श्रेष्ठले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सिंहदरवार केन्द्रीत अधिकार गाउँगाउँमा ल्याउन विगतमा ठूलठूला आन्दोलन भएको स्मरण गर्दै गृह राज्यमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी भएको संविधान मार्फत गाउँगाउँमा सिंहदरवार ल्याउन सफल भएको बताए । स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर संविधानलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले रामेछापवासीले सांसददेखि मन्त्रीसम्म बनाउन भूमिका खेलेको भन्दै जिल्लाको विकास निर्माणको काममा प्रतिबद्ध भएर लाग्ने बताए । रामेछापमा हाल गरेको मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, खानेपानीको समस्यालाई समाधान गर्ने लगायतको कामलाई आफूले प्राथमिकतमा राखेर काम गर्ने बताउदै गृह राज्यमन्त्री श्रेष्ठले भने,‘गृह राज्यमन्त्रीको हैसितमा जिल्लाको विकासको नेतृत्व गर्न चाहन्छु, मलाई रामेछापवासी जनताको साथ र सहयोगको खाँचो छ ।’

 

LEAVE A REPLY