नेपाली सेनाका कारण भक्तपुरमा दमकल अलपत्र, तीन वटा दमकल विग्रीएर थन्कीए



पुष्कर बुढाथोकी, भक्तपुर ।
बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको जिल्लाको एकमात्र दमकल कार्यालयको भवन पुर्ननिर्माणका लागि सरकारले विनियोजन गरेको पाँच करोड रुपैया जग्गा अभावमा थन्किएको छ । जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले तत्कालिन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरि २००१ सालमा स्थापना गरेर जुद्ध वारुण यन्त्र (दमकल) संचालनमा ल्याएको थियो ।
भक्तपुर नगरपालिका १, दूधपाटीमा रहेको दमकल कार्यालयले भोगचलन गर्दै आएको जग्गा २०४३ सालमा नेपाली सेनाले आफ्नो नाममा दर्ता गराए पछि नयाँ भवन बन्न नसकेको उहाँले बताउनुभयो । धौभडेलले जिल्ला प्रशासन कार्यालय भक्तपुर, गृह मन्त्रालय हुदै रक्षा मन्त्रालयमा समेत दमकलको भवन बनाउन मञ्जूरीनामा माग्दा पनि महाविद्यालयले नै आफैलाई चाहिन्छ अरुलाई दिन मिल्दैन भनेर पत्राचार गरेपछि दमकलले जग्गा नआएको उहाँको भनाई थियो ।
आज भक्तपुर दमकलले भत्किएकै भवनमा ७४ औ स्थापना दिवस मनाईरहदाँ उहाँले भन्नुभयो–“२००१ सालदेखि जुद्ध वारुण यन्त्रले भोगचलन गर्दै आएको भवन एवं जग्गा २०४३ सालमा कसैलाई थाहै नदिई सैनिक आवासीय महाविद्यालयले आफ्नो नाममा गर्दा अहिले नयाँ भवन बनाउँन पाउनौ ।”
स्थापना दिवसमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले दमकलको भवन बनाउन उक्त जग्गा प्राप्तिका लागि आफूले सरकारसंग पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, कार्यालयका पूर्वप्रमुख माधव सिग्देल लगायतले आगोलागी र विपदको साहरा बनेको दमकलको नयाँ भवन निर्माणका लागि अहिले भोगचलन गरेकै जग्गा उलपब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
दमकल र यहाँका कर्मचारी विगत दुई वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दै आएका छन् । प्रमुख धौभडेलले भन्नुभयो–“दमकल भवन बसेको जग्गा सैनिक विद्यालयको नाममा हुँदा नक्सापास हुन सकेको छैन, त्यसैले भवनको पुनर्निर्माण अन्योलमा बनेको छ ।”
दमकल कार्यालयको नाममा जिल्लामा अन्त कतै जग्गा नहुँदा भवन कहाँ बनाउने भन्ने अन्यौल बनेको छ । सरकारले बहुवार्षिक बजेट अन्तर्गत रकम विनियोजन गरेकोले आ.व. ०७४÷०७५ मा भवन निर्माण गरिसक्नुपर्ने प्रावधान भएको धौभडेल बताउनुभयो ।
भक्तपुर, काठमाण्डौं, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिदै आएको भक्तपुर दमकलले अहिले आफू बस्ने सुरक्षित ठाउँ एवं भवन समेत नहुँदा समस्या भोग्नु परेकोछ । चारवटा दमकल विग्रिएर जीर्ण भएपछि हाल मध्यपुरथिमि नगरपालिकाले दिएको र अर्को सिद्धिस्मृति अस्पतालले दिएको दमकल गरि दुईवटा दमकल कार्यालयले संचालन गर्दै आएको छ ।

भक्तपुर जिल्लामा पछिल्लो समयमा आगलागीका घटना बढिरहँदा पर्याप्त दमकल र आवश्यक स्रोत साधन समेत नहुँदा कुनै पनि समयमा धनजनको ठूलो क्षती हुन सक्ने खतरा बढेको छ । वि.सं.२००१ मा अमेरिकाबाट ल्याईएको मोडेस, २०२२ सालमा ल्याइएको डेनिस दमकल र २०३२ सालमा ल्याईएको बेलायती म्याग्रिस दमकल बर्षौदेखि बिग्रिएर थन्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्