नगरपालिकाकाको यस्तो लापर्वाही ! १७ वर्षअघि निधन भइसकेका व्यत्तिको नाममा सर्जमिन मुचुल्का



भद्रपुर (ने.स) । झापा गौरादह  ६ मा १७ वर्षअघि निधन भइसकेका व्यत्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको फेला परेको छ । नगरपालिका वडाअध्यक्ष खड्ग पराजुली र वडासचिव खेमनाथ संग्रौलाले गौरादह–६ हेंगाटोलीमा इँटाभट्टा स्थापनार्थ गाउँलेको मञ्जुरी लिने क्रममा निधन भइसकेका र आँखा नदेख्ने व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको फेला परेको हो ।
इँटाभट्टा स्थापनाका लागि उद्योग विकास शाखामा सर्जमिन मुचुल्कासहित सिफारिस गरी पठाउने क्रममा निधन भइसकेका हेंगाटोली निवासी धामीलाल ताजपुरियाको नाममा औंठाछाप लगाइएको छ । तापपुरियाको २०५६ चैत ११ गते निधन भएको थियो । उनको ०५७ वैशाख ४ गते तत्कालीन कोहबरा गाविसले प्रदान गरेको मृत्यु दर्ता प्रमाणपत्रअनुसार ताजपुरियाको ६३ वर्षको उमेरमा निधन भएको प्रमाणित गरेको थियो । तर, वडासचिव संग्रौलाले तयार पारेको सर्जमिन मुचुल्कमा ताजपुरियाको उमेर ५८ वर्ष उल्लेख गरिएको छ ।
यस्तै आँखा नदेख्ने स्थानीय नयाँलाल ताजपुरियालाई पनि सर्जमिनपत्रमा हस्ताक्षर गराइएको छ । आँखा नदेख्ने ताजपुरियालाई ललाइफकाई झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप स्थानीयवासीले लगाएका छन् । उनको नाममा पनि ल्याप्चे लगाइएको पाइएको छ ।
वडासचिव संग्रौलाले सर्जमन मुचुल्का उठाउने क्रममा ‘म फलानो, म फलानो’ भन्दै आएकाले उक्त आधारमा सर्जमन गरेको जवाफ दिए । उनले एउटै नामका अर्का व्यक्ति पनि हुन सक्ने दाबी गरे । सचिवले स्थलगत रूपमा गरेको सर्जमिन मुचुल्कासहित सिफारिस उद्योग विकास शाखामा पठाएका वडाध्यक्ष पराजुलीले भने आफू त्यस विषयमा अनभिज्ञ रहेको बताए । ‘मलाई यस विषयमा केही थाहा छैन । सचिवज्यूले स्थलगत सर्जमन ल्याउनुभएको थियो । मैले त्यही मुचुल्कालाई भद्रपुर पठाइदिएको हुँ’, उनले भने ।

मृतक धामीलालका छोरा गोपाल ताजपुरियाले सचिवले आफूखसी नाम लेखेर सर्जमिन मुचुल्का उठाएको बताए । उनले १७ वर्षअघि निधन भइसकेका बुबाको नाम मुचुल्कामा देखेपछि छक्क परेको बताए ।
स्थानीय श्रीप्रसाद राजवंशीका अनुसार १ सय ५ घरधुरी रहेको गाउँमा धामीलाल ताजपुरिया नामको अर्को व्यक्ति नहरेको बताए । हाम्रो गाउँमा धामीलाल भन्ने एक जना मात्र थिए र उनको १७ वर्षअघि निधन भइसकेको बताए ।
नगरपालिकाका मेयर रोहितकुमार साहले निधन भएका व्यक्तिको नाममा सर्जमिन मुचुल्का गरेको बारे आफूलाई केही थाहा नभएको बताए । उनले सचिवलाई नगरपालिकामा बोलाएर तत्कालै बुझ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्