व्यापारघाटा कम गर्न सहयोगको आग्रह



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा भारत भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले शुक्रबार भारतका वाणिज्य राज्यमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गरेको छ। महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सम्मिलित प्रतिनिधिमण्डलले राज्यमन्त्री सितारमणसँग भेटघाट गरेको हो।

टोलीले भेटमा नेपाल–भारतबीचको बढ्दो व्यापारघाटा कम गर्न सहयोगको आग्रह गरेको छ। भेटमा अध्यक्ष राणाले सन् १९९६ को व्यापार सन्धी दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तारमा महत्त्वपूर्ण औजारको रुपमा रहेको बताउनु भएको थियो। उहाँले निरन्तर रूपमा बढ्दै गएको व्यापारघाटा नेपालका लागि अत्यन्त चिन्ताको विषय भएको पनि जानकारी राख्नुभयो।

सो अवसरमा राणाले व्यापारघाटा न्यून गर्नका लागि आवश्यक सहयोग गर्न वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्नु भएको थियो। राणाले त्यसका लागि नेपालमा पर्याप्त भारतीय लगानी तथा प्रविधि भित्त्याई नेपाली उत्पादकत्व क्षमता तथा प्रतिस्पर्धी क्षमता विस्तारमा सहयोग गर्न जोड दिनुभयो।

वाणिज्य राज्यमन्त्रीसँगको भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतीय सरकारले लागू गरेको विभिन्न गैरभन्सार अवरोधका कारण नेपाली उत्पादनहरूको भारत निर्यातमा समस्या रहेको बताएको थियो। टोलीले यस्ता अवरोधलाई सम्बोधन गर्न आग्रह गर्दै नेपाली उत्पादनको गुणस्तर एवम् ल्याव परीक्षण सुधारलगायतमा भारतीय प्राविधिक सहयोगको लागि अनुरोध समेत गरेको छ।

प्रतिनिधिमण्डलले आत्मनिर्भर उन्मुख नेपाली अर्थतन्त्र र औद्योगिक विकासमा नेपाललाई घाटा पर्ने कुनै काम नगर्न तथा समस्या समाधानमा भारतीय वाणिज्य राज्यमन्त्रीको ध्यानाकर्षण गरायो।

अध्यक्ष राणाले महासंघको समकक्षी भारतीय उद्योग परिसंघको सहआयोजनामा आगामी नोभेम्वर महिनामा नेपाल भारत आर्थिक सम्मेलन हुन लागेको बताउनुभयो। द्विपक्षीय आर्थिक सहयोग एवं सहकार्यलाई बढावा दिने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा मुख्य वक्ताको रुपमा उपस्थितिका लागि अध्यक्ष राणाले मन्त्री सितारमणलाई निमन्त्रणा समेत गर्नुभयो।महासंघ प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने अवसर मिलेकोमा आफूलाई खुशी लागेको बताउनुहुँदै भारतीय वाणिज्य राज्यमन्त्री सितारमणले नेपालको आर्थिक विकासमा भारत सवै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास दिलाउनु भयो।

त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले हिजो त्यहाँका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी र भारतीय उद्योग परिसंघ अध्यक्षसँग भेटघाट गर्यो। मन्त्री गडकरीसँंग भएको भेटवार्तामा नेपालमा भारतीय लगानी प्रवद्र्धन, व्यापारघाटा न्यूनीकरण, आपसी सहकार्यका क्षेत्रहरूलगायतका विषयमा छलफल भयो।

प्रतिक्रिया दिनुहोस्