एनआईसी एसियाले २१ प्रतिशत लाभांश दिने



 

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले २०औं साधारणसभा भदौ ३० गते गर्ने भएको छ। साधारणसभामा बैंकले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने बताइएको छ।

बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गर्न लागेको हो। गत आर्थिक वर्षमा बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको वृद्धि हासिल गरी समग्र बजारभन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको बैंकले जनाएको छ।

गत वर्षको कुल निक्षेपमा बैंकको ३ दशमलव ७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस वर्ष ४ दशमलव १५ प्रतिशतको बजार हिस्सा पुर्याएको छ। साथै गत आर्थिक वर्षको समग्र वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धिमा बैंकले ६ दशमलव ७ प्रतिशत हिस्सा ओगट्न सफल भएको बैंकले जनाएको उल्लेख छ।

यसैबीच वाणिज्य बैंकहरूमा साधारणसभा बोलाउनेमा एनआईसी एसिया बैंक पहिलो भएको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड रुपियाँ खुद नाफा कमाएको छ भने बैंकको प्रतिसेयर आम्दानी २२ रुपियाँ रहेको छ। गत वर्ष बैंकले ५३ वटा शाखा पनि विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्