सामसुंग कम्पनीका उत्तराधिकारीलाई पाँच वर्ष कारावास सजाय



 

सोल,(एजेन्सी)
दक्षिण कोरियाको एक अदालतले शुक्रबार विश्वचर्चित विद्युतीय उत्पादन कम्पनी सामसुंगका अर्बपति उत्तराधिकारी लि जाए योङलाई भ्रष्टाचारको अभियोगमा पाँच वर्ष लामो कारावास सजाय सुनाएको छ।

लि सम्मिलित भ्रष्टाचार काण्डकै कारण दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गे ह्युनलाई महाअभियोग लगाइएको थियो। उक्त भ्रष्टाचार अभियोगका कारण स्थानीय भाषामा चायबोल्सको नामले चिनिने दक्षिण कोरियाकै सबैभन्दा ठूला ेकम्पनी सामसुंगप्रति जनआक्रोस बढेको थियो। आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएका लिले कुल १२ वर्ष लामो कारावास सजाय भोग्नुपर्ने बताइएको छ।

विश्वकै सबैभन्दा ठूलो स्मार्ट फोन निर्माण कम्पनी सामसुंगका जे वाइ लि नामले पनि चिनिने यिनलाई गत फेब्रुअरीदेखि प्रहरीले हिरासतमा राखेको थियो। उनीमाथि भ्रष्टाचारलागयत आर्थिक अनियमितता र विदेशमा अवैध सम्पत्ति लुकाएको पनि अभियोग लगाइएको छ।

४९ वर्षीय लिविरुद्ध दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्ककी निकतटम मित्र चोइ सुन सिललाई राजनीतिक फाइदा लिने उद्देश्यले उनका गैरसरकारी संस्थाहरूलाई ३ करोड ६० लाख अमेरिकी डलर सहयोग गरेको अभियोग लागेको थियो। वकिलहरूले पार्कले सामसुंग इलेक्ट्रोनिक्समाथि लिको नियन्त्रण मजबुत बनाउनका लागि सरकारका तर्फ आवश्यक सम्पूर्ण सहयोग दिलउने सर्तमा उनले चन्दा रकम सहयोग गरेको बताएका छन्।

तर लिको प्रतिवादी टोलीले लिको जानकारीबिना नै सो पैसा बुझाइएको जनाएको छ। विगतमा लिले चोइकी पुत्री चुंग यु राको क्यारियर विकासका लागि पैसाबाट सहयोग गरिएको स्विकारे पनि त्यसबापत कुनै पनि राजनीतिक फाइदा लिन नखोजेको स्पष्ट पारेका थिए।

लिका वकिलले हिजो उनीविरुद्धको अदालती निर्णयउपर माथिल्लो अदालतमा अपिल गरिने जानकारी दिएका छन्। वकिल सोंग वु चियोलले निर्णय उल्टिने सम्बन्धमा आफूहरू ढुक्क भएको पनि बताएका छन्।

यसै काण्डमा लगाइएको महाअभियोगमा अपदस्थ हुन पुगेकी पार्कले अझै मुद्दाहरू खेपिरहेकी छिन्। उनले पनि शुरूदेखि नै आफू बेकसुर रहेको अडान लिँदै आएकी छन्।

यसअघि नै पार्कसँगको सम्बन्ध दुरुपयोग गरी कमाउ धन्धा गरेको अभियोगमा चोइलाई तीन वर्ष लामो कारवास सजाय भइसकेको छ। हिजो सामसुंगका अन्य दुईजना कार्यकारिणी अधिकारी चोइ गिसुंग र चांग चुंग किलाई यही काण्डलाई लिएर अदालतले जनही चार वर्ष लामो कारावास सजाय सुनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्