थाई पूर्वप्रधानमन्त्री यिंगलक विदेश भागेको आशंका



 

बैंकक, (एजेन्सी)
थाइल्यान्डका पूर्वप्रधानमन्त्री यिंगलक सिनावात्रा विदेशतर्फ भागेको सरकारी सूत्रले शुक्रबार जनाएके छ। सहुलियत दरमा कृषकहरूबाट चामल किन्ने परियोजनालाई लिएर चलिरिहेको उनीविरुद्धको मुद्दाको निर्णय हुनै लागेका बेला उनी देश छोडेर भागेको बताइएको छ।

सो परियोजनामा लापरबाही गरेको अभियोगमा सर्वोच्च अदालतमा उपस्थित हुनुअघि नै अप्रत्याशित तरिकाले उनी भागेको उनको पार्टी सूत्रले जनाएको छ। तर उनका वकिलहरूले उनी बिरामी भएके कारण अदालतमा उपस्थित हुन नसकेको बताएका छन्। तर उनी अदालतमा नआएपछि अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गर्दै उनको जमानत जफत गरेको छ।

न्यायाधीशले यस मुद्दाको निर्णय २७ सेप्टेम्बरसम्मका स्थगित गरेको छ। थाइल्यान्डले अर्बौं अमेरिकी डलर नोक्सानी भोग्नुपरेको उक्त चामल परियोजनामा आफ्नो केही गल्ती नभएको यिंगलगकले अडान लिँदै आएकी छिन्।

दुई वर्षदेखि चलिरहेको यस मुद्दाको अन्त्यमा दोषी ठहरिएको खण्डमा उनलाई १० वर्ष लामो कारवास सजाय र आजीवन राजनीतिक प्रतिबन्ध लाग्न सक्ने बताइएको छ। यिंगलकको पुइया थाई पार्टीले उनले पक्कै पनि थाइल्यान्ड छोडेको हुनपर्ने रोयटर्सलाई बताएको छ।

तर उनी कहाँ छिन् भन्नेबारे सो पार्टीले केही बोलेको छैन। थाइल्यान्डको जुन्ता सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री प्रायुथ चान ओचाले थाइल्यान्डबाहिर जाने सम्पूर्ण मार्गमाथि कडा निगरानी राखिएको बताएका छन्। प्रायुथाले भनेका छन्– ‘उनी अदालत आइनपुगेको जानकारी मिलेको छ। मैले सीमा जाँच चौकीहरूमा निगरानी कडा पार्न आदेश दिएको छु।’
उपप्रधानमन्त्री प्रावित वोंगसुवानले शुरूमा यिंगलग कहाँ छिन् भन्ने आफूलाई कुनै जानकारी नरहेको बताए पनि बैंककमा आयोजित एक बैठक सकाएर जाने क्रममा उनले सम्भवत यिंगलक देश छोडेर भागिसकेको हुनुपर्ने बताएका छन्। सिंगलकका दाजु तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पनि सन् २००८ मा सर्वोच्च अदालतले आफूविरुद्ध निर्णय सुनाएपछि दुबईतर्फ निर्वासित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्