भारतीय पक्षबाट जीएसटी प्रभाव जानकारी



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल र भारतका निजी क्षेत्रबीच जीएसटीका कारण नेपालमा पर्ने असर न्यूनीकरण गर्न पहल गर्ने तथा आपसी हित, सद्भाव र सहकार्य विषयमा छलफल भएको छ। पीएचडी चेम्बरले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको ‘इन्डो–नेपाल जीएसटी मिट’ कार्यक्रममा सो विषयमा छलफल भएको हो।

नेपाल व्यवस्थापन संघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका पदाधिकारी सम्मिलित बैठकमा जीएसटीले नेपालमा उपभोग गर्ने वस्तु तथा सेवाको मूल्यमा पर्ने असर आदिको बारेमा नेपाली व्यवसायीलाई सचेत गराइएको थियो।

‘भारतमा एकीकृत कर प्रणालीको कार्यान्वयनपछि नेपालमा त्यस विषय विशेष चासोका साथ लिइएको थियो। तर, भारतीय पक्षले हामीलाई विशेष निमन्त्रणा दिएर जीएसटीको प्रभाव तथा यसको कार्यान्वयनमा नेपाली पक्षलाई पर्ने असरका बारेमा जानकारी दिन हामीलाई डाकेको हो।’ नेपाल व्यवस्थापन संघका अध्यक्ष इन्जिनियर सुशील भट्टले भन्नुभयो। उहाँले भारतले गत जुलाईमै नेपाली नीति निर्माणकर्तालाई बोलाएर यसबारे सचेत गराइसकेकाले निजी क्षेत्रलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको मौकामा जानकारी गराएको जानकारी दिनुभयो।

पीएचडी चेम्बरले बुधबार नेपाली पक्षसँग विभिन्न कार्यक्रम गरेको थियो। सो अवसरमा एक विशेष कक्षमा जीएसटी विषयमा छलफल गरेको हो। छलफलमा पीचडी च्याम्बरका सचिव तथा नेपाली विभिन्न संगठनका प्रतिनिधि सहभागी थिए।

पीएचडी चेम्बर अफ कमर्स एन्ड इण्डष्ट्रिज भारतको सबैभन्दा पुरानो तथा ठूलो चेम्बरमध्ये पर्छ। चेम्बरसँगको समझदारीपछि उद्योग र वाणिज्य क्षेत्रको विकास, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण क्षेत्रमा अध्ययन अनुसन्धान हुने अपेक्षा लिइएको छ। छलफल तथा समझदारीले नेपाली पक्षलाई ठूलो फाइदा पुग्ने भट्टको दाबी छ।

यसैबीच शुक्रबारै नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डललले भारतीय सरकारका वाणिज्य राज्यमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गरेको छ। सो अवसरमा महासंघकी अध्यक्ष भवानी राणाले भारत सरकारले हालै लागू गरेको जीएसटीबाट नेपालको औद्योगिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रकट गर्नु भएको थियो। अध्यक्ष राणाले भारतबाट नेपाल निर्यात हुने व्यापारिक वस्तुमा जीएसटी छुट सुविधा रहे पनि सेवामा जीएसटी लाग्ने⁄नलाग्ने भन्ने विषयमा स्पष्ट नभएकाले जीएसटी छुट हुनुपर्ने सुझाव दिनुभएको थियो।

त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा निर्यात हुने तथा वस्तु तथा सेवामा जीएसटी लाग्न नहुने सुझाव दिनुभयो। भारतले लागू गरेको जीएसटीबाट नेपालले कसरी लाभ उठाउन सक्छ यस विषयमा दुवै देशका निजी क्षेत्रबीच आपसी छलफल हुनुपर्नेमा जोड दिनुभयो।

जीएसटीबाट दुई देशबीचको व्यापारमा अझ सहजता आउने विश्वास महासंघले लिएको समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले बताउनुभयो। उहाँले यस विषयमा महासंघ भारतीय सरकार तथा निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्न तत्पर रहेको विश्वास दिलाउनुभयो।

प्रतिक्रिया दिनुहोस्