अन्तष्करण नियाल्दा ‘यथार्थको ऐना’



मनोज रेग्मी

गोकुल खड्काले यथार्थको ऐना प्रस्तुत गरेका छन्, जुन वास्तविक सबैको यथार्थ छर्लङ्ग पार्ने दर्पण भएको छ। ‘यथार्थको ऐना’ लिएर आउने नवोदित लेखकले ‘जहाँ नपहुँचे रवि, उहीँ जन्मिए कवि’ भन्ने उक्तिलाई आफ्नो कृतिमा यथार्थ चित्रण गरेका छन्। काठमाडौँ उपत्यकासँगै त्यही काभ्रे जिल्लाको दुर्गम पहाडी गाउँमा जन्मेका कविले आफ्नै जीवनमा घटेका घटना–परिघटना र तिनीहरूबाट आफूलाई प्राप्त शिक्षा अनि आफ्नो अन्तरमनबाट प्रस्फुटित कुराहरूलाई यस कृतिमार्फत दर्शाउने जमर्को गरेका छन्।

घरपरिवार, श्रीमती एवं छोराछोरीप्रति आफूले यथोचित समय दिन नसकेकोमा प्रायश्चित्त र परिवारजनको संयमता तथा धैर्यताको लागि कृतज्ञता जाहेर गरेका छन् प्राक्थनमा उनले। नियम, कानुन र अनुशासनको आवश्यकता र महत्वबारे चर्चा गर्दै देश विकासमा यसको अपरिहार्यतालाई सुझाएको एकातिर पाइन्छ भने अर्कातिर देश सु्हाउँदो आर्थिक नीति तथा कार्यक्रम, शैक्षिक गुणस्तर अभिवृद्धि, पर्यटन प्रवद्र्धनलगायतका रणनीतिहरू अवलम्बन गर्न सके देश विकास हुने कुरा पस्किएको पाइएको छ। एकदमै राम्रो पक्ष भनेको शीर्षक छनोट रहेको छ। सफलता शीर्षकभित्र आफूले पर्यटन व्यवसायसँग सम्बन्धित देखे–भोगेका र अवलम्बन गरेका कुराहरू उल्लेख छन्। विभिन्न किसिमका पेसा–व्यवसायसँग सम्बन्धित कतै पूर्ण सफल त कतै कम सफल भएका यथार्थ जीवनगाथाहरू उनेको उनको कृतिले केही सकारात्मक सन्देश पक्कै बोकेको छ। साथै एउटा गतिलो बाटो देखाउने काम पनि गरेको छ। परिश्रम, मेहनत र इमानदारिताजस्ता सद्गुणहरूको फल आफ्नो सफल जीवन भएको यथार्थ प्रस्ट्याएको देखिन्छ।

मेहनत गरे फल मिल्छ भन्ने सकारात्मक सन्देश पनि छ उनको कृतिमा।
राजनीति भनेको के हो ? आफूले कसरी बुझेको थियो भन्ने कुरा आफ्नो जीवन गाथासँग सम्बद्ध गरेर नेपालको राजनीतिक इतिहासको एक कालक्रमलाई छर्लङ्ग पारेका छन् उनले। राजनीति गर्ने केही शीर्षस्थ नेताहरूको कर्तुतको बारेमा पनि उनले समीक्षा गरेका छन्। हरेक कुराको बारेमा आफ्ना विचार प्रस्तुत भएको पाइएको छ तर यसमा निष्कर्ष दिने र समस्या समाधानको बाटो पहिल्याउने काम भएको देखिँदैन। जुन लेखकका लागि आगामी दिनमा कृति निकाल्दा मनन गर्ने कुरा हुन सक्छ। परराष्ट्र मन्त्रालय, महानगरपालिका एवं यातायात कार्यालय र मालपोतको काम कार्वाही पनि यसमा टिप्पणीको रूपमा प्रस्तुत भएको छ। यसमा कार्यगत कमजोरी ओकल्ने प्रयास गरिएको छ। समस्या समाधानबारे खासै बोलेको पाइएन। संस्कृतिका नाममा मौलाएका विकृतिको पनि भण्डाफोर गरिएको छ। देशका प्रायः सबै मन्त्रालयको र प्रशासनिक संयन्त्रको सुस्तताको बारेमा उजागर गर्ने प्रयत्न गरिएको छ। धार्मिक कुरालाई पनि यसमा समेट्ने प्रयास गरिएकोले यो कृति धर्मानुरागीहरूका लागि पनि उत्तिकै पठनीय छ।

प्रतिक्रिया दिनुहोस्