प्रम हैदरावादतिर, ४६ बुँदे वक्तव्य जारी



हैदरावाद जानअघि नयाँदिल्लीमा भारतका वामपन्थी नेता सिताराम यचुरीसँग भेट गर्दै प्रम देउवा । तस्वीरः एजेन्सी

 

नेपाल समाचारपत्र
काठमाडौं
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय शीर्ष राजनीतिक दलका नेताहरूसँगको भेटवार्तामा व्यस्त रहनुभएको छ। शुक्रबारको भेटवार्ता मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र द्धिपक्षीय सम्बन्धका बारेमा केन्द्रित रहेको थियो।

प्रधानमन्त्री देउवाले यस अघिको स्थानीय तहको निर्वाचन र आगामी निर्वाचन तयारीबारे भारतीय नेताहरूलाई अवगत गराउनुभएको बताइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी निर्वाचनमा राष्ट्रिय जनता पार्टीको सहभागिता र संविधानमा असन्तुष्ट पक्षका माग सम्बोधनका लागि भएको प्रयासका बारेमा भारतीय नेताहरूले चासो व्यक्त गरेका थिए। भारतीय जनता पार्टीका महामन्त्री राम माधव, नेता सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताहरू केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी देउवालाई भारतीय राष्ट्रपति कार्यालय पुग्नुभएको थियो।

त्यसैगरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभल, बहुजन समाज पार्टीका नेता सुरेश भदौरियालगायतले पनि देउवासँग भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री देउवासहित नेपाली भ्रमण टोलीले शुक्रबार अपरान्ह् हैदरावादस्थित हाइटेक सिटीको अवलोकन गरेको छ। हाइटेक सिटीले सूचना प्रविधिमार्फत कृषि, स्वास्थ्यसहित अन्य सरकारी सेवा प्रदान गर्दै आएको छ भने सूचना प्रविधिका सप्टवेयरसमेत उत्पादन प्रदान गर्दै आएको छ। सो सिटीका अधिकारीहरूले प्रधानमन्त्री देउवालगायतको नेपाली टोलीलाई त्यहाँको सेवा सुविधाबारे अवगत गराएको थियो।

हैदरावादमा रहँदा प्रधानमन्त्री देउवाले शुक्रबार साँझ तेलङ्गना तथा आन्ध्र प्रदेशका गर्भनर इएसएल नरसिंहनलसँग पनि भेटवार्ता गर्नुभएको छ। सो भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा केन्द्रित भएको परराष्ट्रका एक अधिकारीले बताए। ‘यो भेटवार्ता शिष्टाचार भेट हो, नेपालका विशिष्ट पाहुना यहाँ आएपछि गर्भनरले सम्मान र स्वागत गर्नुभएको भेट हो’ –ती अधिकारीले भने। देउवाले आज शनिबार तिरुपती बालाजीको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ। उहाँको भारत भ्रमणका क्रममा यसअघि नै बिहीबार ४६ बुँदे संयुक्त वक्तव्य जारी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्