८५ दिनपछि मेयरले भने “बाँडेको सपना पूरा गर्छु”



ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफैं पुनःनिर्माण गर्ने स्पष्ट पार्नुभएको छ। उहाले राजनीतिक दवावको भरका कसैको निर्देशनमा निर्वाचन अघि चार पक्षसंग सम्झौता गरेर काष्ठमण्डप पुनःनिर्माण गर्ने विषयमा गल्ती गरेको प्रस्ट पार्नुभयो। वैशाख ३१ गते निर्वाचन हुनु दुई दिनअघि वैशाख २९ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका तथा काष्ठमण्डप पुनःनिर्माण अभियानबीच समझदारी गरेकोमा आपत्ती जनाउँदै त्यो समझदारी गल्ती भएको बताउनुभयो।

उहाँले त्यसबेला गरेको सम्झौता निर्वाचित पदाधिकारी आएपछि काम नलाग्ने स्पष्ट पार्दै जनचाहनाअन्ुसार कामपा आफैंले काष्ठमण्डप पुनःनिर्माण गर्ने प्रस्ट पार्नुभयो। उहाले भन्नुभयो– ‘हामी जगैदेखिको नक्सा तयार गरेर आफ्नै र स्थानीयवासीको सहयोगमा निर्माण गरेरै छाड्छौं।’ शुक्रबार केही पत्रकारहरूसँग कुरा गर्दै उहाले भन्नुभयो– काष्ठमष्डप बनाउने दायित्व कामपाको हो हामी आफैंले पुनःनिर्माण गर्न शुरु गर्नेछौं।

काष्ठमण्डप बनाउन विदेशी दातृ निकायको सहयोग नलिने घोषणासमेत गर्नुभयो। उहाँले भन्नुभयो– ‘भए नेपाली जनताको रकम संकलन गर्छाैं, नभए हामी आफैं पुनःनिर्माण गर्नेछौं। सबै निकायको सहमति भइसकेको छ, अब केही महिनाभित्रै काष्ठमण्डप पुनःनिर्माण गर्नेछौं’ –उहाँको भनाइ थियो।

काष्ठमण्डप मात्रै नभइ धरहरा र रानीपोखरी पनि कामपा आफैंले पुनःनिर्माण गर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– पुरानै स्थानमा धरहरा बनाउछौं पुरातत्व विभागले नक्साङकन गरेको ठाउँमा बनाउदैनौं। सय वर्षभन्दा पुरानो पुरातात्विक महत्वको धरहरा भन्ने अनि नयाँ स्थानमा धरहरा बनाउने? यो सम्भव छैन।

भूकम्पले जुन ठाउँमा धरहरा ढलाएको छ त्यही स्थानमा त्यस्तै बनाउनेछौं। उहाँले नयाँ स्थानमा बनाउने योजना गलत भएको टिप्पणी गर्दै भन्नुभयो– ‘पुरानो स्थानमा पहिलाकै जस्तो धरहरा पुनःनिर्माण गर्नुपर्छ । हामीले ५० वर्षका लागि भोगाधिकार पाएका छौं,धरहरा संरक्षण गर्ने दायित्व हाम्रो हो हामी नै बनाउनेछांैं। उहाँले नयाँ स्थानमा अन्य संरचना निर्माण गरे पनि धरहरा भएकै स्थानमा नयाँ धरहरा बनाउने योजना कामपाको रहेको जानकारी दिनुभयो। मेयर शाक्यले साइडवार्कससंग गरेको सम्झौता भंग गर्ने बताउँदै कामपालाई कर नतिर्ने कम्पनीको कुनै औचित्यता नभएको प्रष्ट्याउनुभयो। साइडवाकर्सको सम्झौता भंग गर्छौ हामी आफैंले धरहरा पुनःनिर्माण गर्नेछौं’ –उहाँको भनाइ थियो। ‘ठेकेदारले रानीपोखरीको ड्रइङ नभएको कारण बनाउन नसकेको सुनेको छु। कामपाले तत्काल ड्रइङ दिएर रानीपोखारीको पुनःनिर्माण शुरु गर्नेछ’ –उहाँले भन्नुभयो।
गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण आरम्भ गरेको झण्डै एक वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेपछि असन्तुष्टी जनाइरहेको अवस्थामा कामपाले तत्काल काम थालनी गर्ने जनाएको छ। मेयर शाक्यले कामपाले प्रकृया पूरा गरी चाडै नै पुनःनिर्माण शुरु गर्ने जानकारी दिनुभयो।

उहाँले नेपाल भ्रमण गर्न आउने सम्पूर्ण विदेशी र सबै स्वदेशीको संम्पदाको रुपमा रहेको रानीपोखरी कुरुप भइरहदा आफूलाई समेत हीनताबोध भएकामा दुःख व्यक्त गर्दै मेयर शाक्यले सबै सरोकारवालाको सहयोगमा रानीपोखरीको समेत पुनःनिर्माण थाल्ने बताउनुभयो। आफूले गरेको कामका बारेमा संचारमाध्यममा विभिन्न टिकाटिप्पणी आइरहेको अवस्थामा केही पत्रकार बोलाएर आफ्नो धारणा र सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले आफ्नै कार्यकालमा उपत्यकामा मोनो रेल सञ्चालन गर्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘तपाईहरू ढुक्क हु्नुस् मेरो कार्यकाल पूरा नहुँदै म उपत्यकामा रेल भित्र्याउछु त्यही रेल चढेर जनतालाई देखाउछु। आफ्नो कार्यकाल पूरा गरेको करिब ८५ दिनमा आयोजना गर्नुभएको कार्यक्रममा उहाले सय दिन पूरा भएको दिन आफूले गरेका, गर्न नसकेका र गर्नुपर्ने कामको श्वेतपत्र जारी गर्ने उल्लेख गर्नुभयो।

उहाँले राजधानीको पार्किङ व्यवस्थापन गर्न धर्मपथको पुरानो नगरपालिका कार्यालय र टेकुमा पार्किङ भवन निर्माण गर्ने, फोहोर व्यवस्थापन गर्न करिब २६ करोड रुपियाँबराबरको सवारी साधन खरिद गर्ने, रत्नपार्क र नयाँ बसपार्कलाई व्यवस्थित गर्ने, मेलम्चीले काम सक्नासाथ राजधानीको सडक मर्मत गर्ने, फुटपाथलाई व्यवस्थित गर्नेलगायतका योजना अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मैले जनतालाई बाँडेको सपना साकार पार्नेछु , त्यसका लागि नगरवासीको सहयोगको अति आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्