मुकेशको जन्मोत्वसमा २६ पाउन्डको केक



 

मोतीराम तिमल्सिना, काभ्रे
जनआन्दोलन २०६२⁄२०६३ मा घाइते भई जिउँदो शहीद घोषणा गरिएका बनेपाका मुकेश कायस्थको २७औं जन्मोत्सव विद्यासागर स्कुल बनेपा र मुकेश कायस्थ प्रतिष्ठानले भव्य रूपमा मनाएका छन्।

विद्यासागरमा अध्ययन गरिरहेकै समयमा जनआन्दोलनमा चलेको गोली लागी घाइते भएका मुकेशको अवस्था सुधारोन्मुख हुँदै छ। विद्यालयमा पहिलोपटक आयोजना गरिएको जन्मोत्सव कार्यक्रममा सांसद कञ्चनचन्द्र वादे प्रमुख अतिथि थिए। शहीद तथा जनआन्दोलनका घाइतेहरूले दिएको बलिदानका कारण मुलुकमा नयाँ संविधान बनेकाले संविधानको भावनाअनुसार स्थानीय निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा मुकेशजस्ता जनआन्दोलनका घाइतेहरूका लागि सहयोग गर्न तयार रहेको वादेले बताए। कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं वादेले मुकेशको योगदानको मूल्यांकन गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल हीरा शर्माले मुकेश विद्यालयको जेहनदार विद्यार्थी भए पनि आन्दोलनमा घाइते भई विद्यालय नसके पनि उसले देशका लागि दिएको योगदानको कदर गर्दै सम्मानस्वरूप सबै साथीहरूको बीच मुकेशको जन्मोत्सव मनाइएको बताए। विद्यालयले उनको जन्मोत्सवमा २६ पाउन्डको केक तयार गरेको थियो। तयारी केकलाई मुकेशले काटेर जन्मोत्सव मनाइएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले मुकेश राष्ट्रको सम्पत्ति भएकाले मुकेश घाइते भई पाएको दुःख सम्झेर होइन खुसीसाथले उसको स्याहारसुसार गर्नुपर्ने बताए। जिउँदो शहीद थोरै मात्र हुने भएकाले उनीहरूको सम्मानका लागि राष्ट्रले विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने दुवालले बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौ प्रधानले मुकेश कायस्थका नाममा बनेपामा अस्पताल निर्माण गर्नुपर्ने बताएका थिए। नगरपालिकाले जग्गा व्यवस्थापनमा सहयोग गरे कायस्थका नाममा अस्पताल खोल्न सहयोग गर्ने चौ प्रधानले बताए। कार्यक्रममा मुकेशको आमा मीरा कायस्थले छोरा घाइते भएकोमा दुःखी हुनुभन्दा राष्ट्रले सम्झिरहेकोमा खुसी व्यक्त गरिन्। मुकेशको स्वास्थ्य सुधारोन्मुख हुँदै गएकोमा कायस्थले खुसी व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्