नगरपालिकाले निजीलाई “फोहोर” मा मिसाएन



 

नेपाल समाचारपत्र
बाँके
नेपालगन्ज उपमहानगरपालिका र निजी क्षेत्रले छुट्टाछुट्टै ठाउँमा फोहोर फाल्न थालेका छन्। डम्पिङसाइटको अभावले गर्दा नगरपालिकाले आफ्नो ‘सुर’ गरेर अघि बढेपछि निजी क्षेत्र अप्ठेरोमा परेको छ।

नगरपालिको यति बेला फूलबारी मस्जिद नजिक फोहोर फाल्ने गरेको छ। करिब ६ कठ्ठाको खाल्टोमा नगरपालिकाले फोहोर फालेको छ। फोहोरले पुरिएपछि माथिबाट माटोले पटान गरिदिने स्थानीयसँग सहमति भएको छ।

आफ्नो जग्गा नहुँदा नगरपालिकालाई बजारमा दैनिक उठ्ने फोहोर व्यवस्थापन गर्न अप्ठेरो पर्दै आएको छ। केही महिनादेखि नगरपालिकाका कर्मचारी फोहोर फाल्ने ठाउँ नहुँदा हैरानीमा थिए। ‘ठाउँ नहुँदा दुई दिन त पाँचवटा ट्याक्टर नगरपालिकामै राखियो’, सरसफाइ शाखाका प्रमुख अशोक केसीले भन्नुभयो– ‘अहिले राहत मिलेको छ।’

वर्षौंदेखि सँगै फोहोर फाल्दै आएका निजी क्षेत्रलाई नगरपालिकाले छुट्याएपछि उनीहरू समस्यामा परेका छन्। नगरपालिकाले बजार क्षेत्रमा अर्थात् सडक छेउमा फालेको फोहोर उठाउने गर्दछ। निजी क्षेत्रले होटल, अस्पताललगायत घरघरबाट निस्किने फोहोर उठाउने गर्दछ। निजी क्षेत्रले उठाउने फोहोर पोकोमा राखिने भएकाले बढी गन्ध आउने गर्दछ। गन्धकै कारणले स्थानीयले फोहोर फाल्न नदिएपछि नगरपालिकाले निजी क्षेत्रलाई छुट्याएको हो। फूलबारी मस्जिद छेउमा पनि निजी क्षेत्रको फोहोर नफाल्ने सर्तमा नगरपालिकाले फोहोर फालेको स्रोतले बताएको छ। नगरपालिकाका सरसफाइ शाखा प्रमुख केसीले हामीले भेदभाव नगरे पनि जग्गा धनी र आसपासका व्यक्तिले निजी क्षेत्रले उठाउने फोहोरले गन्ध बढाउने कसरी जानकारी पाएर कसीकसाउ गर्छन् थाहा नभएको बताउनुभयो।

नगरपालिकाले दैनिक पाँचवटा ट्याक्टरमा फोहोर उठाउँछ। तीनवटा निजी क्षेत्रका चारवटा ट्याक्टरले फोहोर उठाउने गर्दछ। साउन ३१ गतेदेखि सरकारी र निजी क्षेत्रले छुट्टाछुट्टै ठाउँमा फोहोर फालिरहेका छन्। निजी क्षेत्रले ढोडे गाउँमा फोहोर फालेको छ। ‘हाम्रो लिखित सम्झौतामा नगरपालिकाले फोहोर फाल्ने ठाउँ खोजिदिने उल्लेख छ’, एक निजी क्षेत्रका सञ्चालकले भने– ‘अहिले आएर नगरपालिकाले भेदभाव गरेको छ। हामीलाई फोहोर फाल्न साह्रै अप्ठेरो परेको छ।’

नेपालगन्जमा नगरपालिकाले दैनिक १७⁄१८ टन फोहोर उठाउँदा निजी क्षेत्रले त्यसको आधामा योगदान गरिरहेको छ। फोहोर गल्ने⁄नलग्ने र हानिकारक हुन्छन्। निजी क्षेत्रले हानिकारिक फोहोर पनि उठाउने गर्दछन्। स्थानीय व्यक्तिलाई कोही न कोहीले यी सबै कुरा बताएर भड्काउने गरेको स्रोतको भनाई छ।

नेपालगन्ज नगरपालिकाले हिरमिनियामा बन्दै गरेको डम्पिङसाइट निर्माणमा कडाइ गरेको छैन। बनिरहेको ठाउँमा कडाइ नहुँदा द्रुतगतिमा काम भएको छैन। आफ्नो डम्पिङसाइट नहुँदा निजी जग्गा खोज्दै हिँड्नुपरेको छ। जग्गा धनीले फोहोर फाल्न दिए पनि गन्हाउने कारणले स्थानीयले प्रतिकार गर्दै आएका छन्। नगरपालिकाले देखाएको ठाउँमा फोहोर फाल्ने सहमति गरेर अघि बढेका निजी क्षेत्र भने फोहोर कहाँ फाल्ने भन्ने चिन्तामा डुबेका छन्। ‘फोहोर व्यवस्थापनमा हामी निजी क्षेत्रसँग सँगसँगै छौं’, सरसफाइ शाखाका प्रमुख केसीले भन्नुभयो– ‘अहिले स्थानीयले बढी गन्हाउने नाममा छुट्याएका छन्। हामी मिलेर अघि बढ्छौं।’

निजी क्षेत्रले भने नगरपालिकाले जग्गाको व्यवस्था नगरे फोहोर व्यवस्थापनमा अप्ठेरो पर्ने जनाएका छन्। ‘अहिले ढोडेगाउँमा फालिरहेका छौं, त्यहाँ पनि अन्यत्र जानुपर्यो भने त हामीलाई अति नै अप्ठेरो हुन्छ’ –निजी क्षेत्रका एक सञ्चालकले भने।

प्रतिक्रिया दिनुहोस्