भारतमा पुर्याइएकी चेलीको उद्धार, गौडा–गौडामा दलाल 



कुमार श्रेष्ठ, बाँके । काठमाडौंबाट नवराज बस्नेत नाम गरेका व्यक्तिले दुई महिलालाई बस चढाएर बाँकेको कोहलपुर पठाए । चितवनका बुधे कुमालले हेटौडाकी एक महिलालाई सँगै लिएर कोहलपुरसम्म आए । र, तीनै जनालाई नाका पार गराउने जिम्मा दिइयो, कोहलपुरका मानेन्द्र नेपालीलाई ।

मानेन्द्रले श्रीमतीको सहयोग लिएर काठमाडौंबाट पठाइएका सिन्धुपाल्चोकका दुई महिलालाई नेपालगञ्ज हुँदै नाका पार गरेर भारतको रुपैडिहा पु¥याए । दुवै महिलालाई रुपैडिहामा रोकेर मानेन्द्र हेटौडाकी महिलालाई लिन कोहलपुर आए । त्यही क्रममा उनी समातिए । हेटौडाकी महिला, मानेन्द्र र बुधे कोहलपुरमा समातिएपछि रुपैडिहामा रहेका महिलाहरु अलमलमा परे । मानेन्द्रकी श्रीमती पनि श्रीमान ढिलासम्म नआएपछि नेपालपट्टी फोन गर्न आइन् । प्रहरीले मानेन्द्रलाई फोन गर्न लगाएर भारतमा पुगेका महिलालाई नेपालमै बोलाएर नियन्त्रणमा लियो ।

भारतको दिल्ली हुँदै कुवेत जान थालेका तीन महिलाको कोहलपुर प्रहरीले उद्धार गरेको हो । सबै ‘निशुल्क’ भनेपछि महिलाहरु जोखिमपूर्ण यात्रामा निस्केका थिए । २१, २७ र ४२ वर्षका ती महिलाहरुले आर्थिक अवस्था कमजोर रहेकाले भारत हुँदै कुवेत जान थालेको बताए ।

महिलालाई खाडीमुलुकको जोखिमपूर्ण यात्रा गराउन काठमाडौंदेखि गौडा–गौडामा दलालहरु बस्ने गरेको पाइएको छ । काठमाडौंमा एकजनाले महिलालाई जम्मा गर्ने, नाकासम्म अर्कोले पु¥याउने, नाका पार अर्कोले गर्ने, भारतमा पु¥याएर अर्कोलाई जिम्मा लगाउने गरिन्छ । एक महिलालाई दिल्लीसम्म पु¥याए वापत दलालले एकदेखि डेढ लाखसम्म पाउने स्रोतले बतायो ।

‘निशुल्क’का नाममा भारत हुँदै खाडीमुलुक पुग्ने धेरै महिलाले दुःख पाएका छन् । भूकम्पपछि बढेको सिन्धुपाल्चोकलगायतका जिल्लाबाट खाडी जाने महिलाको संख्या अझै रोकिएको छैन । पूर्वी जिल्लाहरुबाट नेपालगञ्ज नाकालाई प्रयोग गर्ने गर्दछन् । भारतमा किनमेल गर्न जाने नेपालीको बढी भिडभाड हुने भएकाले यो नाकाबाट दलालले सहजै महिलालाई भारत पु¥याउने गरेको पाइन्छ । सिन्धुपाल्चोकका यी दुई महिलालाई नाका पार गराउन मानेन्द्रले श्रीमतीलाई लगाएका थिए । यद्यपि, नाकामा प्रहरी र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने संघ संस्थाहरुले सधैं कडा निगरानी राखेका हुन्छन् ।

दलालले निशुल्क जान पाइने र खाडीमुलुकमा पैसा कमाइने प्रलोभन देखाएर महिलालाई फकाउने गर्दछन् । के काम, कति पैसामात्रै होइन, कुन देश भन्नेसम्म थाहा नपाएर महिलाहरु दलालको पछि लाग्छन् । जसले गर्दा त्यहाँ पुगेपछि दुःख पाउँछन्, सम्बद्ध जानकारहरु भन्छन् ।  कोहलपुर प्रहरीले बुधे र मानेन्द्रलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउने तयारी गरेको छ भने काठमाडौंमा रहेका बस्नेतलाई पक्राउ गर्न केन्द्रमा अनुरोध गरेको छ ।
७ सय ८० सम्पर्कबिहीनआर्थिक वर्ष २०७३÷०७४ मा भारत तथा खाडीमुलुक पुगेका ७ सय ८० जना महिला सम्पर्कबिहीन भएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि वर्षमा यत्तिका निवेदन आएको हो । घरपरिवारको सल्लाह तथा आफूखुशी दलालको प्रलोभनमा परेर भारत तथा खाडीमुलुक पुगेका महिलाहरु लामो समयसम्म सम्पर्कमा नआएपछि घरपरिवारले खोजतलासका लागि निवेदन दिएका हुन् । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले निवेदन परेकामध्ये ५१ जनाको उद्धार गरेको बताउनुभयो । उद्धार हुनेमा ५० जना भारत र एकजना खाडीमुलुक थिए ।
खोजतलासका लागि निवेदन दिने जिल्लामा बाँके अगाडि रहेको छ । यहाँबाट एक सय ८७ जनाले निवेदन दिएका छन् । दोस्रोमा सुर्खेत जिल्ला परेको छ । सुर्खेतबाट एक सय ४५ जना सम्पर्कबिहीन भएको निवेदन परेको छ । दाङ, बर्दिया, सल्यान, जाजरकोट, रुकुम, दैलेखबाट पनि उल्लेख्यमात्रामा खोजतलासको निवेदन आएको छ । मध्यपश्चिमका सबै जिल्लाबाट धेरैथोरै खोजतलासको निवेदन आएको छ । पछिल्ला दिनमा दलालहरु पहाडतिर सक्रिय रहेको खोजतलासका लागि आएको तथ्यांकले नै देखाएको छ । पूर्वी जिल्लाहरुबाट पनि खोजतलासका लागि निवेदन आएको छन् ।
खोजतलासका लागि आएको निवेदनलाई हेर्दा १६ वर्ष मुनिका १ सय ४७, १८ वर्ष मुनिका २ सय ७९ र १८ वर्षमाथिका ३ सय ५४ जना छन् । यो तथ्यांकले दलालले १८ वर्षमुनिकालाई ‘तारगेट’ गरेको देखिन्छ ।
माइती नेपाल र प्रहरीले नेपालगञ्ज नाकामा बसेर एक हजार एक सय २७ जनालाई खाडीमुलुक जानबाट रोकेका छन् । दलालले सिकाए बमोजिम यो वा त्यो बहाना बनाएर नाका पार गर्न खोज्नेहरुलाई तालिम प्राप्त कर्मचारीले वास्तविक कुरा ओकल्न लगाएर नाकाबाट फिर्ता गरेका हुन् । नाकामा रोकेर ‘तपाईहरु जोखिममा पर्नुहुन्छ, बेचिन सक्नुहुन्छ, बुझेर जानुपर्छ’लगायतका कुरा गरेर काउन्सिलिङ गरेपछि कतिपय महिलाहरु अब त जान्न भनेर फर्किने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्