कपाल–आतंकको नियन्त्रण जरुरी



अहिले पर्सा, महोत्तरी, धनुषा, रुपन्देही, कपिलवस्तुलगायतका तराईका जिल्लाहरूमा अज्ञात वस्तुबाट महिलाको कपाल काटिने समस्या विकराल बन्दै गएको छ । भैरहवा, रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको कपाल रहस्यमय ढंगले काटिएको समाचार छ ।

यता पर्सामा २० जना जति महिलाको कपाल काटिएको उजुरी प्रहरी कार्यालयमा परेको छ । दुई साताअगाडि वीरगन्जबाट शुरु भएको यो समस्या तराईका अन्य जिल्लाहरूमा पनि फैलिँदै जाँदा महिलाहरू त्रसित बनेका छन् । कतिपय त यही समस्याका कारण बिरामी परेर अस्पतालमा उपचार गराउन गएको खबर छ । मानिसले होस् वा अन्य अज्ञात वस्तुले होस्, यसरी सयौं महिलाको कपाल काटिँदा सरकार बेखबर छ ।

घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइन्छ् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको बताएका छन् ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । स्थानीयवासीहरू डरले त्रसित भएपछि भूतप्रेतको प्रवेश नहोस् भनेर आफ्नो घरको मूलगेटमा कागती, लसुन, खुर्सानी, नीमको पातजस्ता वस्तु झुन्ड्याउने गरेको पनि समाचार छ । यति हुँदा पनि सरकारी तवरबाट कुनै खोजखबर–अनुसन्धान नहुनु विडम्बना नै मान्नुपर्छ ।

यसरी महिलाको कपाल काटिँदै जाने हो र नियन्त्रणको प्रक्रिया नअपनाउने हो भने यसले सम्पूर्ण तराईमै आतंक मच्चाउनेछ । पछिल्लो घटनाले महिलाको कपाल काट्ने यो वस्तु एक किसिमको कीरा भएको कुरा इंगित गरेको छ । जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलबार एक युवतीको कपाल काटिने घटना भएसँगै हेर्न गएका स्थानीय बासिन्दाले कपालमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको कीरा फेला पारेका छन् ।

सो कीरा जिल्ला प्रहरी कार्यालय, धनुषामा ल्याइएको र सो बारेमा कीरा अनुसन्धानकर्ताहरूलाई जानकारी गराइएको समाचार छ । एउटा कीरा कपालमा भेट्दैमा महिलाको कपाल काट्ने यही कीरा हो भनेर ठोकुवा गर्न पनि सकिँदैन । यस कीराको अनुसन्धान हुनै पर्छ । कपाल काट्ने यही कीरा हो भन्ने अनुसन्धानबाट यकिन भएपछि सरकारले यसको उन्मूलन गर्ने योजना गरिहाल्नुपर्छ । साथै यस कीराको उन्मूलन गर्दा आइपर्ने अन्य समस्यालाई पनि पहिले नै विचार पुर्याउनुपर्छ । यदि महिलाको कपाल काटेर आतंक मच्चाउने यो कीरा होइन रहेछ भने पनि गहिरो अनुसन्धान गरेर प्रकोपको रुपमा फैलिएको यो समस्याको नियन्त्रण गरिहाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्