गिनिजबुकमा नाम लेखाउन कस्सिए खड्गी



हेटौंडा, (नेस)। २०३९ सालअगाडि नेपालमा कराँते खेल्न र सिक्न प्रतिबन्ध थियो। त्यो खेल सिक्नेले ‘मान्छे मार्छ‘ भन्ने आम सोचाइ थियो। त्यसैले कराँते खेलेर हातमा ठेला उठाएको मान्छे देख्यो कि प्रहरीले पक्राउ गर्ने हुनाले गर्मीमा पनि काठमाडौं जाँदा पन्जा लगाएर जान्थे रे उनी।

उनी भारतबाट लुकाएर ल्याएको किताब हेर्दै जंगलमा गएर कम्फु कराँते सिक्थे। त्यस्तो समयमा पनि खेल सिक्ने उनका करिब ४ सय चेला थिए। त्यसकै फलस्वरूप उनी नेपालमा चर्चित छन्। नेपाली सिनेजगत्मा द्वन्द्वनिर्देशनका साथै अभिनय र नृत्यमा संलग्न रहेर एउटा छुट्टै पहिचान बनाउँदै आएका उनी हुन् हेटौंडेली राजेन्द्र खड्गी।

उनी पछिल्लो समय आफूलाई विश्वमै चिनाउने प्रयासमा लागेका छन्। उनी आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लेखाउन कस्सिएका छन्। आफूले विश्वका धेरै फिल्ममा द्वन्द्व निर्देशन गरेको भन्दै उनी यस्तो अभियानमा लागेका हुन्।

विश्वास फिल्मबाट द्वन्द्व निर्देशनमा लागेका खड्गीले ५ सयभन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्। आफूले काम गरेको प्रमाणस्वरूप एग्रिमेन्ट पेपर र अन्य कागजपत्र तयार पार्न उनले साथीको सहयोग लिएर संकलन कार्य जारी राखेका छन्। थुप्रै फिल्ममा अभिनयसमेत गरेका उनले २ सय दिन चलेको आगोसहित पापी, मामाघर, रणसंग्राम, नथिङ इज इम्पोसिवललगायतका फिल्म निर्माण गरेका छन्।

उनी करिब ३५ वर्षअघि द्वन्द्व तथा कला निर्देशक गोपाल भुटानीको सहायक भएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। कुनै जमानामा नायक राजेश हमाल, संगीतमा शम्भुजित बास्कोटासँगै र खड्गीको द्वन्द्व निर्देशन भएपछि बल्ल फिल्मले पूर्णता पाउँथ्यो र ती फिल्म सफल पनि हुन्थे।

‘एकबार बाँच्ने जीवन हो भन्ने कुरा राम्रोसँग बुझेको छु, त्यसैले म कसैको कुभलो चिताउँदिन र गर्दिन पनि’ –उनले भने। आफ्ना गुरू ओयामोबारे वृत्तचित्र निर्माणका लागि उनले दुई पटक जापान पुगेर छायांकन गरेका छन्।

‘त्यतिखेर दिनको ५० रुपियाँमा काम गथ्र्यौं’, उनले स्मरण गरे– ‘हामी आफैंले फिल्म बनाउन थाल्यौं। मैले ६ वटा हिन्दी फिल्ममा पनि काम गरेको छु।’ उनी २०१८ सालमा जन्मिएका हुन्। हेटौंडामा जन्मिएर त्यति बेला काठमाडौं कीर्तिपुरमा भएको धेरै जग्गामा खेती गर्न त्यता हनिएका उनी बुबा हेटौंडामा व्यापारी भएकाले आमासँग काठमाडौं जान्थे। उनका बुबा राणा प्रधानमन्त्री जुद्ध शमशेरका आठ पहरीयामध्ये एक हुन्।

व्यापारीको छोरा भएकाले धेरै पढेर जागिर खानुपर्छ भन्ने सोच उनमा कहिल्यै आएन रे। मकवानपुरमा रात्रि क्याम्पस पढ्दा अध्ययनमा उनको रुचि जागेन। उनको खलनायकी र निर्देशन यात्रा भने हालसम्म जारी छ।

प्रतिक्रिया दिनुहोस्