इंग्लिस गोलमेसिन रुनीको संन्यास



– १७ वर्षको उमेरमा
डेब्यु गर्दै इंग्ल्यान्डका कान्छो                      

अन्तर्राष्ट्रिय

खेलाडी बनेको ।

– चार पटक इंग्ल्यान्डका
वर्ष खेलाडी घोषित ।
(२००८, २००९, २०१४ र २०१६)

– इंग्ल्यान्डका सदाबहार गोलकर्ता (५३ गोल)

 – इंग्ल्यान्डका लागि बढी अन्तर्राष्ट्रिय खेल खेलेको
(११८ खेल)- सबैभन्दा बढी रातो कार्ड
आत्मसात गरेको इंग्लिस खेलाडी ।

– २० वर्ष मुनिको खेलाडी
सबैभन्दा बढी शुल्क लिएको ।
(म्यानचेस्टर युनाइटेडले २ करोड ५६ लाख पाउन्ड खर्चेको)

– युएफा च्याम्पियन लिगमा
ह्याट्रिक गर्ने कान्छो खेलाडी ।
(१८ बर्ष ३३५ दिनमा ह्याट्रिक गरेको)

– प्रिमियर लिगमा १ सय गोल गर्ने
म्यानचेस्टर युनाइटेडका तेस्रो खेलाडी।

– पहिलो प्रिमियर लिग खेलाडी
जसको १ करोड फ्लोअर्स भएको ।

लन्डन, (एजेन्सी)  

इंग्लिस फुटबलको कुरा गर्दा वायने रुनीको नामबाट अपरिचित सायदै कोही होलान्। हालसालै वायने रुनीले इंग्लिस प्रिमियर लिगमा आफ्नो दुई सयांै गोल पूरा गरे। १३ वर्षपछि आफ्नो पुरानो क्लब इभर्टनमा फर्केका वायने रुनीले म्यानचेस्टर सिटीविरुद्धको खेलमा गोल गर्दै आफ्नो प्रिमियर लिग गोल संख्या दुई सय पुर्याएका हुन्।

प्रिमियर लिगमा दुई सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन्। प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन सियरर हुन्। उनको नाममा २ सय ६० गोल रहेको छ। एकातिर दुई सयौं गोलको कोशेढुंगा पूरा गरेर सबैतिर तारिफका हकदार बनेका रुनीले त्यसको दुई दिनपछि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेर इंग्लिस फुटबलका फ्यानहरूमा हलचल ल्याइदिए।

यो कुराको घोषणा उनले आगामी महिना विश्वकप छनोटका लागि हुने टिम घोषणापूर्व नै गरेका हुन्। उनले आफ्नो संन्यासको बारेमा भने– ‘छनोटको बेला इंग्लिस टिममा पर्नु मेरो लागि सौभाग्य बन्दै आएको छ। अब टिमबाट बिदा लिने सही समय आएको जस्तो मलाई लागेको हो।’ इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान रुनीले १ सय १९ अन्तर्राष्ट्रिय म्याचमा ५३ गोल गरेका छन्।
उनी इंग्ल्यान्डको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने फुटबलरसमेत हुन्। उक्त कीर्तिमान बनाउने क्रममा यसअघि इंग्लिस विश्वकप विजेता टिमका महत्तवपूर्ण सदस्य सर बबी चार्लटनले बनाएको ४९    अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई उनले तोडेका हुन्। अझ प्रिमियर लिग यूएफा च्याम्पियन्स लिग, लिग कप, युरोपा लिग र फिफा क्लब वल्र्डकपको उपाधि जित्ने उनी माइकल क्यारिकपछिकै पहिलो इंग्लिस खेलाडीसमेत बनेका छन्।

रुनीले इंग्ल्यान्डको तर्फबाट सन् २००३ को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गरेका थिए। उक्त म्याचमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ३–१ ले हराएपछि उनको अन्तर्राष्ट्रिय करियरको शुरुआत नै सुखद बनाएको थियो। सन् २००४ मा पोर्चुगलमा सम्पन्न युरो कपका लागि छनोट चरणको म्याच खेल्दा उनी मात्र १७ वर्षका थिए।

योसँगै उनी इंग्लिस राष्ट्रिय टिममा डेब्यु गर्ने सबैभन्दा कान्छो उमेरका खेलाडी बनेका थिए। सन् २००४ को युरोकप छनोट खेलअन्तर्गत इंग्ल्यान्डले मेसेडोनियालाई २–१ ले पराजित गर्दा रुनीले पनि एक गोलको योगदान गरेका थिए। १७ वर्षको उमेरमा उनले गरेको उक्त अन्तर्राष्ट्रिय डेब्यु गोल इंग्लिस फुटबल इतिहासमा सबैभन्दा कान्छो खेलाडीको नाममा रहेको छ।
उक्त प्रतियोगिता उनको करियरको पहिलो अन्तर्राष्ट्रिय प्रमुख प्रतियोगितासमेत हो।

यति मात्र होइन, उनले सन २००४ को युरोकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डविरुद्ध दुई गोल गरेर प्रतियोगिताकै कान्छो गोलकर्ताको उपमा पाएका थिए। जुन चार दिनपछि नै फ्रान्सविरुद्धको खेलमा एक गोल फर्काएर स्विजरल्यान्डका अर्का कान्छा फुटबलर योहान भोनलाथेनले उछिनेका थिए। उनले उक्त प्रतियोगितामा चोट बेहोर्नुअघिसम्म आफ्नो नाममा चार गोल लेखाएका थिए।

योबाहेक सन् २००८, २०१२ र २०१६ गरी युरोकपको कुल चार संस्करण उनले खेलेका छन्। यसै गरी उनले सन् २००६, २०१० र २०१४ सम्पन्न फिफा विश्वकपमा पनि इंग्लिस टोलीको महत्वपूर्ण सदस्यको रूपमा उनी मैदानमा उत्रेका थिए। गत वर्षको नोभेम्बरमा स्कटल्यान्डविरुद्ध खेलेको म्याच नै उनको करियरको अन्तिम आधिकारिक अन्तर्राष्ट्रिय म्याच बन्यो। उनको कप्तानीमा खेलिएको उक्त म्याचमा स्कटल्यान्डविरुद्ध इंग्ल्यान्ड ३–० ले विजयी बनेको थियो।

वास्तव इंग्लिस प्रिमियर लिगको जारी सिजन शुरु भएयता रुनीले इभर्टनबाट खेलेको दुवै म्याचमा गोल गरेका छन्। यसलाई आधार मान्ने हो भने उमेर ३१ भए पनि उनको गोल गर्ने क्षमतामा अझै कमी आएको देखिँदैन। उनीबाट इंग्लिस फुटबल टिमले अझै पनि आशा गर्ने आधार छ। तर, हतारको उनको संन्यास घोषणाले भने उनको आवश्यकता इंग्लिस टोलीमा सधैं खट्की नै रहनेछ।

प्रतिक्रिया दिनुहोस्