रसुवागढी भन्सारमा लफडा



नेपाल समाचारपत्र,काठमाडौं ।
रसुवागढी भन्सार हुँदै नेपाल भित्रिने अर्बौ रुपियाँ बराबरको वस्तु जाँचपास हुन नसक्दा बजारमा त्यसको असर देखिएको छ। दशैं–तिहारलगायतका चाडवाड नजिकिएसँगै लत्ताकपडा, खाद्यान्न जस्ता वस्तुको बजारमा समस्या देखिन थालेको हो।

नयाँ सामान बजारमा ल्याउन नसक्दा पुराना सामानको व्यापार पनि सन्तोषजनक रूपमा नभएको व्यवसायीहरूले बताएका छन। चीनबाट आयात गरिने वस्तुमा व्यापारी, ढुवानीकर्ता एजेन्ट र भन्सार कर्मचारीबीच कमिसनको विषयमा कुरा नमिल्दा समस्या देखिएको हो।

ठूला व्यापारीहरूले आफ्नो सामान सजिलै पास गरिरहेको भए पनि साना व्यापारी मर्कामा परेको उनीहरूको गुनासो छ। चीनसंँगको दुईपक्ष्ीाय व्यापारका लागि प्रमुख मानिएको केरुङ नाकाबाट नेपाल भित्रिसकेका कन्टेनरहरू पनि जाँचपासका लागि भन्सार कार्यालय नआईबीचमै रोकिएको रसुवागढी भन्सार कार्यालय प्रमुख केदार न्यौपानेले जानकारी दिनुभयो। यसरी आयातित सामान बीच बाटोमा अड्कििँदा साना तथा मध्यमस्तरका व्यापारीहरू मर्कामा परेका छन्।

भन्सार प्रमुख पनेरुका अनुसार व्यवसायीले जुन रेटमा सामान खरिद गरेका छन् त्यही मूल्य प्रस्तुत नगर्नु, समयमै मालको सही मूल्यांकन गर्न नसक्नु र समयमै सामान नउठाउनु जस्ता कारणले समस्या देखिएको हो। ‘अहिलेको मुख्य समस्या भनेकै नेपाली व्यापारीहरूको उचित कारोबार मूल्य मूल्यांकन गर्न नसक्नु हो। यो समस्याको सामाधान व्यवसायीहरू आफैंले खोज्नुपर्छ। ’पनेरुले नेपाल समाचारपत्रसँग भन्नुभयो।

भन्सारको प्रक्रिया अनुसार निकासी पैठारीकर्ताले मालवस्तु जाँचपासका लागि भन्सार यार्डमा घोषणा गर्नुपर्ने भए पनि व्यापारीहरू वस्तु घोषणा गर्न गएका छैनन्। घोषणा गर्ने दायित्व स्वयम् मालधनीको हुने र घोषणा गरिसकेपछि कार्यविधि कानुन र भन्सार ऐनले निर्दिष्ट गरेको कानुन अनुसार स्थानीय भन्सार कार्यालय वस्तु जाँचपास गर्छ। तर, भन्सारका कर्मचारी, व्यापारी र एजेन्टबीच भन्सार शुल्कका विषयमा कुरा मिल्न सकेको छैन।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष नयनबहादुर पण्डितले विगत ३ महिनादेखि व्यापारमा कुनै किसिमको सुधार नभएको र दशैंको मुखमा पनि व्यापार बढ्नुपर्नेमा झन कमिआएको बताउनुभयो। केरुङ नाकामा देखिएको समस्याका कारण बजारमा माग भएको दैनिक उपभोग्य साम्रगीदेखि लत्ताकपडा भन्सारबाट छुटाउन नसकिएको व्यवसायीहरूको गुनासो छ। राष्ट्रिय व्यापार संघका अध्यक्ष युवराज न्यौपानेले व्यापारी र सरकारी पक्षको तादम्यता नमिल्दा बजारका सामान ल्याउन नसकिएकोे बताउनुभयो। अध्यक्ष न्यौपानेले सामान ल्याउन नसक्नुमा व्यवसायी र भन्सार कार्यालय दुवैको दोष रहेको बताउनुभयो। ‘नाकामा भन्सार एजेन्टको मनोमानी र सरकारी निकायबाट सहजीकरण नहुँदा सामान ल्याउन समस्या रहेको देखिएको छ।

केही एजेन्टहरूको मनोमानी भन्सारमा चल्ने गरे पनि उनीहरूको विकल्प खोज्न सकिएको छैन।’ उहाँले भन्नुभयो। चीनबाट आयातित कन्टेनरहरूले राजस्व दाखिला, जाँचपास र वस्तु घोषणाका लागि व्यवसायीहरू नेपालमा आउने कन्टेनरहरू सहज रूपमा नै आइरहेका पनेरुले दाबी गर्नुुभयो। कुनै व्यवसायीले जाँचपास गर्न ल्याउदैनन् भने त्यो व्यवसायीको कमजोरी भएको पनेरुले बताउनुभयो।

भन्सारमा केही एजेन्टको एकाधिकार र मनोमानी चल्ने हुँदा व्यवसायीहरूले सामान ल्याउन आग्रह गर्दा समेत सामान जाँचपासका लागि भन्सार पुग्न सकेका छैनन्। राष्ट्रिय व्यापार संघले भने सरकार र भन्सार विभागले पनि सामान आयात गर्ने सहज वातावरण बनाउनु पर्ने जनाएको छ। नेपाल समाचारपत्र नाम नखुलाउने सर्तमा एकजना व्यवसायीले भन्सार कार्यालयका कर्मचारी र व्यापारीबीच आन्तरिक लेनदेन नमिलेका कारण आयातमा अवरोध पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्