एपीएफलाई भलिबल उपाधि



धन बस्नेत, पोखरा

डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमन्ड एकेडेमीलाई हराउँदैं विभागीय एपीएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको फाइनलमा एपीएफले डायमन्डलाई २५–१८, २५–१८ र २५–१२ ले पराजित गरेको हो। योसँगै विभागीय टोली न्यु डायमन्डको लगाचार वर्चश्व पनि समाप्त गर्यो। न्यु डायमन्डले दोस्रो संस्करणदेखि पाँचांै संस्करणसम्म उपाधि जितेको थियो। पहिलो संस्करणका विजेता एपीएफको यो यस वर्षको दोस्रो उपाधि हो। यसअघि वैशाखमा भएको शेरबहादुर स्मृति कपको फाइनलमा पनि टोलीले न्यु डायमन्डलाई पराजित गरेको थियो।

विजेता बन्दै एपीएफले ७५ हजार र ट्रफी जित्यो। उपविजेता न्यु डायमन्डले ५० हजार नगदमा चित्त बुझाएको थियो। यसै गरी नेपाल पुलिस क्लबले घरेलु टोली पश्चिमाञ्चललाई २५–१८, २५–१९, २२–२५, २५–२२ ले हराएर २० हजार नगद सुरक्षित गर्यो।

प्रतियोगिताअन्तर्गत एपिएफकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, पश्चिमाञ्चलकी पवित्रा बीसी उत्कृष्ट ब्लकर, अरूणा शाही उत्कृष्ट सर्भर, एपीएफकी विनीता उत्कृष्ट सेटर, नेपाल पुलिसकी कमला पुन उत्कृष्ट लिब्रो र एपिएफकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीको रूपमा पुरस्कृत भए।

प्रतिक्रिया दिनुहोस्