धर्मगुरुको बलात्कार मुद्दाको निर्णय सम्मुख सुरक्षा व्यवस्थामा कडाइ



पन्चकुला, (एजेन्सी)

एउटा धार्मिक सम्प्रदायका चर्चित गुरुमाथि लगाइएको बलात्कार मुद्दाको सुनुवाइ हुन एकदिन अघि बिहीबार उत्तरी भारतका थुप्रै शहरहरूमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। दाह्रीवाल गुरु डा. गुरमित राम रहिम सिंह जि इन्सानका दशौं हजार अनुयायी पञ्चकुला शहरस्थित अदालत भवनबाहिर धर्ना कसेर बसेका छन्।

तसर्थ पञ्चकुला र त्यस वरपरका क्षेत्रमा थुप्रो संख्यामा प्रहरी तथा अद्र्ध सेना तैनाथ गरिएको छ। ती गुरुले देरा साचा साउदा सम्प्रदायका आफ्ना दुईजना महिला अनुयायीमाथि बलात्कार गरेको अरोप अस्वीकार गर्दै आएका छन्। नजिकको पंजाब राज्यबाट आफ्नो परिवारका २० जना सदस्यसंग आएकी २० वर्षीया अनुयायी निशु रानीले भनेकी छिन्– ‘हामी यहाँ गुरुजीको समर्थनका लागि भेला भएका छौं।’ अदालतको निर्णय सुन्न त्यहँँ ओढ्ने ओच्छाउनेसमेत लिएर जम्मा हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका छन्। शाकाहारी जिवनशैलीको प्रवद्र्धन र लागूऔषधको कुलत विरुद्ध आवाज उठाउने यस सम्प्रदायको ५ करोड सदस्य रहेको बताइन्छ।

निशुले अरूले फालेका बालिकाहरूसमेतलाई आफ्नै छोरीका रुपमा स्वीकारेर हुर्काउने गरेका गुरुजीले बलात्कार जस्तो अपराधिक कार्य गर्नै नसक्ने बताउँछिन्। गुरुजी विरुद्धको यो बलात्कार मुद्दा भारतको उच्च निकाय केन्द्रीय जाँचबुझ ब्युरो (सीबीआई ) ले खडा गरेको विशेष अदालतमा चलिरहेको छ।

संभावित हिंसालाई ध्यानमा राखेर पञ्चकुलामा मात्र करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरी हवाइ अनुगमनका लागि ड्रोन विमान प्रयोग गरिरहेको छ भने भिडलाई तितरवितर पार्न पानीको फोहरा तयार अवस्थामा राखिएको छ। नजिकैको चन्डिगढमा पनि हजारौं संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सन् २००७ मा देरा साचा साउदाका अनुयायी र शिख धर्मावलम्वीहरूबीच भएको मुठभेटमा उत्तर भारतमा कम्तिमा तीनजना व्यक्तिको मृत्यु भएको थियो।

त्यसै गरी सन् २०१४ मा अर्का धर्मगुरु रामपालका अनुयायी र प्रहरीबीच भएको मुठभेटमा ६ जनाको अनाहकमा ज्यान गएको थियो। एउटा हत्याको मुद्दाको सिलसिलामा पटकपटक अदालतमा अनुपस्थित रहेकाले उनलाई जवर्जस्ती अस्पताल ल्याइन खोज्दा सो भिडन्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्