फेरी मनसुन सक्रिय बन्यो, केही ठाँउमा भारी वर्षाको संभावना



टीका बन्धन, काठमाडौं ।
भारतको झारखण्ड र बंगालको खाडी आसपासमा विकास भएको न्यून चापिय रेखा (पानी पार्ने प्रणाली)को प्रभाव मुलुकभर परेको छ । चितवन सहित मुलुकको मध्य क्षेत्रमा विहीवार मध्यान्ह्रपछि भारी वर्षा भएको छ ।

चितवनको माडी क्षेत्रको गोविन्द वस्ती आसपासको क्षेत्रमा भारी वर्षा भएपछि नदी र जलाधार क्षेत्रको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई लक्षित गर्दै मौसम विभागको वाढी पूर्वानुमान शाखाले ‘मास एसएमएस’ पठाएको छ । विहीवार १ वजेपछि १ घन्टाको अवधिमा गोविन्द वस्ती आसपासको क्षेत्रमा ८४ मिलिमिटरका हाराहारीमा वर्षा भएको थियो ।

मुलुकको पूर्वी र मध्य क्षेत्रका धेरै भू–भागमा विहीवार राती र शुक्रवार समेत मध्यम र केही ठाउँमा भारी वर्षा दोहोरिने भएकाले नदी तटिय र जलाधार क्षेत्र आसपासका वस्तीमा उच्च सर्तकता अपनाउन शाखाले आग्रह गरेको छ । भारतीय भू–भागबाट वायुमण्डलको माथिल्लो भेग र सतहबाट समेत भित्रिएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर यस्तो प्रभाव परेको मौसमविद्हरुले जनाएका छन् ।

यस्तो प्रभाव शनिवारसम्म जारी रहने र धेरै स्थानमा मध्यम र केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो । ‘देशैभरी हल्का र मध्यम स्तरको वर्षा हुँदैछ, केही ठाउँमा भारी वर्षा समेत हुने मौसमी गतिविधी विकास भएको छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

नवलपरासी, रुपन्देही, भैरहवा, दाङ लगायतका स्थानमा विहीवार साँझ केही बढी वर्षा हुने र भोली शुक्रवार मुलुकको पूर्व र मध्य क्षेत्रमा पनि केही बढी वर्षा हुने रिमालले जानकारी दिनुभयो । शुक्रवार साँझपछि मनसुनको प्रभाव पश्चिमका धेरै भू–भागमा समेत पर्ने उहाँले बताउनुभयो ।

तर साउन अन्तिम साताको जस्तो सक्रिय र निरन्तर भारी वर्षाको संभावना दोहोरिने भने होइन’–रिमालले प्रष्ट्याउँदै भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्