वडा अध्यक्षको यस्तो हालत कस्ले बनायो ?



मोतीराम तिमल्सिना,काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीका वडा अध्यक्ष राजन कोईराला माथी आईतबार राति भएको आक्रमणमा संलग्नको पहिचान हुन सकेको छैन । अचेत अवस्थामा नर्भिक अस्पतालको आईसियुमा राखिएका कोईरालाको स्वास्थ्य सुधारउन्मुख हुन सकेको छैन ।

घटना घटेको पाँचौ दिनसम्म प्रहरीले आक्रमणकारीको पहिचान गर्न नसकेको भन्दै धुलिखेल नगरपालिका तथा कोईराला सलग्न दल नेकपा एमालेले चर्काे विरोध गरेका छन् ।

‘कोईरालाको आक्रमण राजीतिक हिसावले भएको हो, तत्काल अनुसन्धान गरी आक्रमणकारीलाई पक्राउ गर्नुपर्छ’–रविओपीका पुर्व गाविस अध्यक्ष तथा वडा कमिटी अध्यक्ष उद्धव चौलागाईले भने । धुलिखेल नगरपालिकाका प्रमुख एवं नेकपा एमाले काभ्रेका उपाध्यक्ष अशोक ब्याञ्जुले कोईरालाको आक्रमणमा संलग्न अपराधिहरुलाई पत्ता लगाई उनी माथीको आक्रमण के र किन ? को बाट भएको हो यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

कार्यपालिकाको बोर्ड बैठकले घाईते वडा अध्यक्ष कोईरालाको स्वास्थ्य लाभको कामना गर्दै दोषिको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

‘वडा अध्यक्ष कोईराला माथीको आक्रमण सिङ्गो जनप्रतिनिधि माथीको आक्रमण हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘जिल्लाबाट भईरहेको अनुसन्धानलाई अझै फराकिलो र गम्भिर रुपमा अगाडी बढाउन गृहमन्त्री जनार्दन शमाको ध्यानाकर्षण गराईसकिएको छ ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापा र सिआईवीको टोलीले घटनाका बारेमा मसिनो ढंगबाट अनुसन्धान भईरहेको बताएका छन् । शंकास्पद ब्यक्ति र घटनामा संलग्न ब्यक्तिहरुको सोधपुक्ष तथा केहि तथ्यहरु संकलनको काम भईरहेको प्रहरी प्रमुख एसपी सहकुल बहादुर थापाले बताए ।

नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका कोईरालाको उपचारमा संलग्न चिकित्सक डा. जेमेश महर्जनका अनुसार कोईरालाको टाउको र छाती निरको हड्डीमा लागेको चोट कडा ठक्करबाट भएको हो । ‘उनी धेरै अग्लो पहाडबाट खस्दा मात्रै उक्त चोट लाग्न सक्छ, नत्र कसैको गहकिलो ठोक्काईबाट मात्रै यस्तो घटना हुन सक्छ’–डा. महर्जनले भने–‘कोईरालाको ब्रेनमा भएका र वरपरका सबै हड्डीहरु फुटेका छन्, आँखाका नानीहरुमा समेत असर पुगेको छ, साथै बायाँ छाति निरको हड्डी समेत फुटेको छ ।’ टाउको भित्रको हड्ड्ी समेत फुट्ने घटना एकदमै कम अवस्थामा हुन सक्ने उनले बताए ।

मस्तिस्क विस्तारै काम गर्न छाडेको, ज्वरो आईरहेको, हेमोग्लोविन कम हुँदै गएपछि ब्लड दिएर केहि बढेको, रगत चुहिरहे पनि कुन स्थानबाट हो पत्ता लाग्न नसकेको डा. महर्जनले बताए । उनको ब्लड प्रेसर शुरुको अवस्थामा बढेको भए पनि अहिले ठिक अवस्थामा रहेको छ । डा. महर्जनको टोलीले खतरा मुक्त भन्न नसकिने अवस्था रहेको बताएको छ ।

घटनाका बारेमा एमाले जिल्ला कमिटी, धुलिखेल नगर कमिटी, २ नम्वर वडा कमिटी, युवा संघ काभ्रे लगायतका विभिन्न संघ संगठनहरुले विरोध गर्दै तत्काल दोषि पत्ता लगाई कारवाहीको माग गरेका छन् । आईतबार साँझ कोईराला सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थामा दुध विक्री गरेर घर फर्कदै गर्दा रविओपीको छापको खोल्सा नजिक कोईरालाहरुको कुलदेवता मन्दिर नजिक लडिरहेको अवस्थामा भेटिएका थिए । दुध विक्री गरेर फर्किएका कोईरालाको हातमा मोवाईलको लाईट बालिएको, दुधको खाली क्यान बोकिएको र तेल समेत थियो ।

बार्याँ कान फाटेको र सोहि ठाउँ नजिकैको गिदी रहने भागमा हड्डी समेत फुट्ने गरी चोट लागेको अवस्थामा भाई जगन्नाथ कोईरालाले राति ८ बजे तिर देखेपछि मात्रै उक्त घटनाको बारेमा जानकारी भएको थियो । ७ बजे घरबाट श्रीमतीले फोन गरेर तेल लिएर चाँडै आउन भनेपछि वडा अध्यक्ष कोईराला डेरीबाट चाँडै फर्किएका थिए । फर्कन क्रममा उनको साथमा एकजना बच्ची थिईन ।

उनी एक सय मिटर वरै घरका अन्य सदस्यहरुलाई कुरेर बसिन् । कोईराला एक्लै झरिरहेका थिए । घर पुग्न झण्डै चार सय मिटर मात्रै बाँकी हुँदा उनी लडेको अवस्थामा फेला परेका हुन् । ‘शुरुमा त मैले कोहि मादक पदार्थ सेवन गरेर ढलिरहेको होला भनेर नउठाई जान खोजें’–भाई जगन्नाथले भने–‘दुधको क्यान, मोवाईलको लाईट समेत बलेको देखेपछि गएर हेदा वडा अध्यक्ष समेत रहेका दाई राजन रहेछन् ।’तत्कालै स्थानीयहरुलाई बोलाएर उपचारका लागि धुलिखेल अस्पताल पु¥याईएको थियो ।

धुलिखेल अस्पतालले नर्भिक अस्पतालमा रिफर गरेपछि सोमबार विहान ३ बजे मात्रै टाउकोको अप्रेसन भएको थियो । कोईराला लडिरहेको स्थान वरीपरी ढुंगा समेत भएको, खोल्साको नालामा धारिलो ढुंगा देखिएको भए पनि एक साईडमा मात्रै गम्भिर चोट भएकाले घटना शंकास्पद भएको प्रहरी अनुसन्धानले बताएको छ ।

त्यस्तै धुलिखेल २ का वडा अध्यक्ष राजन कोईराला माथीको सांघातिक आक्रमण विरुद्ध नेकपा एमाले जिल्ला कमिटी काभ्रेले विज्ञप्ती प्रकाशित घरी घोर भत्सर्ना गरेको छ । कार्यालय सचिव बसुन्धरा हुमागाईद्वारा जारी विज्ञप्तीमा घटनाको भत्सर्नना गर्दै घटनाको सत्य तथ्य पत्ता लगाई निश्पक्ष छानविनको माग गरेको छ । साथै घाईते कोईरालाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्