आज हरितालिका तीज : देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो



नेपाल समाचारपत्र, काठमाडौ ।

हरितालिका तीजका अवसरमा बिहिबार देशभरका शिव मन्दिरहरुमा महिला दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौ भक्तपुर ललितपुर लगायतका भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ पनि भक्तजनको बिहानै देखि भीड लागेको छ ।

काठमाडौको पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नैभक्तजनको भीड लागेको छ ।

पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड

हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताउनुभयो ।

पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताउनुभयो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

बिहानैदेखि शिवालयहरुमा महिलाको भीड

हरितालिका (तीज) पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।

ब्रम्हा, बिष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सिपाडोलको डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

मन्दिरमा महिला दर्शनार्थीको भीड लागेपछि सहजरुपमा दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था एवं स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । भक्तपुरको दत्तात्रय मन्दिर, डोलेश्वर महादेव मन्दिर, आशापुरी मन्दिरमा महिलाको अत्यधिक घुइँचो लागेकाले सुरक्षा व्यवस्थाका साथै स्वयंसेवक परिचालन गरिएको छ ।

महिलाहरु भोकै बसेर ब्रत बस्ने भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखेर दत्तात्रय र डोलेश्वर मन्दिरमा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्