म्याग्दीमा छात्रा फुटबल



 

प्रताप बानियाँ, म्याग्दी

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जिल्लामै पहिलोपटक छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ। जिल्ला खेलकुद विकास समितिद्वारा ‘हामी पनि सक्छौं’ भन्ने मूल नारासहित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबल प्रतियोगिता–२०७४ आयोजना गरिएको हो। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर दुई दिनसम्म आयोजित प्रतियोगितामा जिल्लास्थित विभिन्न १० ओटा विद्यालयका छात्राहरूले सहभागिता जनाएको छ। बुधबार सम्पन्न दोस्रो चरणको खेलमा माउण्ट एभरस्टले गलेश्वर आदर्श बोर्डिङ स्कुललाई ४–० गोलअन्तरले हराएर सेमीफाइनलमा प्रवेश गरेको छ।

त्यस्तै बेनी सामुदायिकले बुद्ध एकेडेमीलाई पेनाल्टीमार्फत एक गोल गर्दै अर्को चरणमा प्रवेश गर्यो भने बेनी बोर्डिङले प्रकाश माविलाई १–० गोलअन्तरले हरायो। न्यु वेस्ट प्वाइन्टले बालमन्दिर विद्यालयलाई ८–० गोलअन्तरले पाखा लगाएर दोस्रो चरण पक्का गर्यो। विद्यालय उमेर समूहका छात्राको खेल प्रतिभालाई उजागर गर्न यस वर्षदेखि लिग चरणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद १५ हजार, द्वितीयलाई ९ हजार, ट्रफी मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालगायतलाई पनि १ हजार पाँचसय तथा अनुशासित टिमलाई २ हजार पाँचसय रुपियाँसहित मेडल र प्रमाणपत्रस्वरूप पुरस्कार दिइनेछ।

प्रतिक्रिया दिनुहोस्