अमेरिकामा पनि छक्का पञ्जालाई अवार्ड, अनमोल र केकी सर्वोत्कृष्ट नायक नायिका



अमेरिकाको डेनभर कोलोराडोमा दोस्रो खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ आयोजना गरिएको छ।

नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसी र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको आतिथ्यतमा हालै त्यहाँस्थित होटल क्राउन प्लाजामा सम्पन्न अवार्ड समारोहमा छक्का पञ्जालाई सर्वोत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ भने त्यसैबाट निर्देशन क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री दीपाश्री निरौलालाई सोही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ। सोही फिल्मबाट जितु नेपाललाई सहअभिनेताको अवार्ड प्रदान गरिएको छ।

अमेरिकामा रेहका र नेपालबाट गएका कलाकर्मीका बीच सम्पन्न अवार्ड समारोहमा अनमोल केसीलाई गाजलुबाट सर्वोत्कृष्ट नायक र केकी अधिकारीलाई लभ सासाबाट सर्वोत्कृष्ट नायिकाको अवार्ड प्रदान गरिएको छ। अभिनेता टीका पहारीलाई लाइफ टाइम एचिभमन्ट अवार्ड २०१७, अर्जुनजंग शाही र सुवर्ण क्षत्रीलाई एचिभमन्ट अवार्ड २०१७ प्रदान गरिएको समारोहमा एभरेस्ट सूर्य बोहरालाई डायस्पोरा फिल्म निर्देशक अवार्ड, विक्रान्त बस्नेतलाई बेस्ट डायस्पोरा अभिनेता अवार्ड, युना उप्रेतीलाई डायस्पोरा अभिनेत्री अवार्ड, रविन कार्की ‘रायन’ लाई डायस्पोरा फिल्म वितरक अवार्ड, मनीष श्रेष्ठलाई तुयुमतीबाट विशेष फिल्म जुरी अवार्ड, एम बराललाई उत्कृष्ट गायक, निर्देशक सुरेश दर्पण पोखरेललाई बेस्ट फिल्म पर्सनालिटी इन डायस्पोरा तथा अभिनेताहरू रवीन्द्र खड्का, मुकुन्द किशोर भट्टराय र कृष्णमुरारी ढुंगेल, निर्देशकद्वय राजेन्द्र सलभ र नारायण पुरी, गायिका निलम श्रेष्ठ र फोटोग्राफर राजीव श्रेष्ठलाई स्पेसल अवार्ड प्रदान गरिएको थियो। सोही अवसरमा लेखक तथा पत्रकार दीपशिखा शर्मा, निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको कोलोराडोबाट नेपाल समाचारपत्रका सहयोगीले जानकारी गराएका छन्।

हलिउडका निर्माता थोमस वि फोरसमेत सहभागी समरोहमा सो अवार्डका संस्थापक अध्यक्ष नवराज श्रेष्ठले नेपाली सिनेमालाई विश्वबजारमा पुर्याउने र बजार विस्तार गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। ‘हामी विश्व सिनेमा बजारमा हाम्रो आफ्नो उपस्थिति खोजिरहेका छौं। यही खोजीको एउटा स्वरूप यो फिल्म अवार्ड समारोह पनि हो’ –उनको भनाइ थियो।

कार्यक्रममा नेपालमा गएको बाढीपहिरोबाट प्रभावितको सहयोगार्थ सहभागीहरूको तर्फबाट ५ हजार ४ सय १४ डलर राहत सहयोग संकलन भएको थियो। संकलित रकम नेपाल चलचित्र कलाकार संघमार्फत् नेपालमा पठाइने जानकारी संयोजक शैलेश पोखरेलले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्