एकीकरण र विभाजनको नियतिमा राप्रपा

 

किरण गिरी

२०४७ साल जेठ १५ गते एकैदिन राप्रपा थापा र राप्रपा चन्द नामक दुई पार्टी दर्ता भए। नेपालको राष्ट्रिय राजनीतिलाई आजसम्म चर्चाको केन्द्रविन्दुमा राख्न यी दुवै पार्टी सफल भइरहेका छन्। त्यो सफलता एक–दुईपटक सत्ता प्राप्तिमा केन्द्रित रह्यो भने अधिकांश टुटफुट र विभाजनमा मात्र केन्द्रित रह्यो। पछिल्लोपटक एकीकरण भएको ६ महिना पनि नबित्दै राप्रपा विधिवत् र औपचारिकरुपमा विभाजित भएको छ। निर्वाचन आयोगमा पशुपति शमशेर जंगबहादुर राणाको अध्यक्षतामा नयाँ दल राप्रपा प्रजातान्त्रिक खुलेको छ। एकता र विभाजनको शृङ्खला गन्ने हो भने शायद १ दर्जनभन्दा बढी शृङ्खलाबाट गुज्रिएको पूर्वपञ्चहरुको यो पार्टीको भविष्य अब गम्भीर संकटमा परेको छ।

नीति, सिद्धान्त र आदर्शको कारण नभई सत्तास्वार्थ र निहित स्वार्थको कारण फुट्ने गरेको राप्रपा यसपटक भने सैद्धान्तिक एवं वैचारिक कारण र चुनाव चिह्न हलोको नाममा विभाजित भएको छ। यसपटकको विभाजनलाई केही हदमा सैद्धान्तिक आवरण दिइएको छ। गत फागुन महिनामा अत्यन्त ठूलो तामझामका साथ एकता महाधिवेशन सम्पन्न गरी एक भएको राप्रपाले नेतृत्वको स्थान र भावनालाई व्यवस्थापन गर्न नसक्दा यो पार्टी निरन्तर टुटफुट र विभाजनको गोलचक्करमा परिरहेको पाइन्छ। एकता महाधिवेशनपछि आमजनतामा एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राप्रपा बन्नेछ भन्ने चाहना र विश्वास पलाएको थियो। आमनागरिक र सञ्चारमाध्यमले समेत त्यही ढंगको विश्लेषण गरेका थिए। नेपालको सामाजिक संरचनाको बनौट, अर्धसामन्ती संरचनाको प्रतिविम्ब सबै तह र तप्कामा पर्नु स्वाभाविकै हो। नेपालको राजनीति र राजनीतिक दल पनि त्यसबाट अछूतो रहन सक्दैन। झन् राप्रपाजस्तो पुरातनवादीमा त त्यसको प्रत्यक्ष प्रभाव पर्नु स्वाभाविकै हो।

नीति, सिद्धान्त र आदर्शको कारण नभई सत्तास्वार्थ र निहित स्वार्थको कारण फुट्ने गरेको राप्रपा यसपटक भने सैद्धान्तिक एवं वैचारिक कारण र चुनाव चिह्न हलोको नाममा विभाजित भएको छ। यसपटकको विभाजनलाई केही हदमा सैद्धान्तिक आवरण दिइएको छ।

यसपटकको विभाजनपछि स्थापित भएको राप्रपा प्रजातान्त्रिकले पुरानो राप्रपालाई संस्थागत र पारदर्शीरुपमा चलाउन नसकेको, स्थानीय तहको निर्वाचनमा करारी हार बेहोर्दा पनि त्यसको जिम्मेवारी नलिएको, व्यक्तिगत हैकमवादलाई बढावा दिँदै पार्टीलाई तहसनहस पार्न खोजिएको आरोप लगाएको छ। यो आरोपको सत्यताको परीक्षण गरिरहनुभन्दा पनि आखिर पूर्वपञ्चहरु किन सहकार्य र सहयात्रा गर्न सक्दैनन् ? एक–अर्काको अस्तित्व र सम्बोधन गर्न सक्दैनन् ? भन्ने प्रश्न अहम् रुपमा उठ्ने गरेको छ। माओको कान्छी श्रीमतीलाई हेर्ने दृष्टिकोणमा मतान्तर भएपछि चिन्डभिन्ड हुँदै विभाजन हुने गरेको नेपालका कम्युनिस्ट पार्टीहरुको इतिहास र अनुभवलाई हामीले हेरेका छौं। पार्टी विभाजनको लागि एउटा खास आधार र औचित्य स्थापित गर्न नेतृत्व तहले कुनै पनि आवरण फालिरहेको हुन्छ। यसपटक राप्रपाले पनि त्यही आवरण फालेर पार्टी विभाजनको औचित्यलाई स्थापित गर्न खोजेको देखिन्छ।

गत स्थानीय तहको निर्वाचनको परिणामपछि नै राप्रपाभित्र विभाजनको आगो भुसको आगोझैँ सल्किरहेको थियो। निर्वाचन परिणामलाई समीक्षा र विश्लेषण गर्न, निर्वाचन चिह्न परिवर्तन गर्न एवं परिणामको नैतिक जिम्मेवारी लिन तीव्र दबाब दिइएको थियो। पार्टीको गत श्रावण पहिलो हप्ता बसेको केन्द्रीय कार्यसमितिको बैठकले पनि त्यसतर्फ आवाज बुलन्द गर्दै नेतृत्वलाई संस्थागतरुपमा नै दबाब प्रवाह गरेको थियो। केन्द्रीय समितिको बैठकमा बोल्न अधिकांश सदस्यहरुले पार्टीभित्र सुधार र परिवर्तन नआए राप्रपाले ठूलो क्षति व्यहोर्नुपर्ने र ठूलो दुर्घटना हुने उद्घोष गरिरहेका थिए। त्यो बैठकको चित्रणबाट नै पार्टी विभाजनका संकेतहरु आइसकेका थिए। त्यसलाई नेतृत्वले नैतिक जिम्मेवारी लिएर समयमा नै सम्बोधन गर्न सकेन। अन्ततः श्रावण २२ गते राप्रपा विधिवत् र औपचारिकरुपमा विभाजन हुन पुग्यो। अब यति बेला जिम्मेवारी र विगतको विश्लेषण र आरोप–प्रत्यारोप गर्नुको कुनै अर्थ छैन। दुवै तर्फका नेताहरुसँग त्यसको समय पनि रहनेछैन। अब आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने भावी रणनीति र कार्यक्रम तर्जुमा गरेर अगाडि बढ्नु नै उचित देखिन्छ। यसबारे चर्चा यत्ति नै।

नेपालको राजनीतिमा राप्रपाले बेग्लै र मौलिक इतिहास राख्न सफल भयो। यो पार्टीले दुई–दुईपटक सरकारको नेतृत्व प्रदान गर्यो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न पनि राप्रपाले आफ्नो तहबाट अमूल्य योगदान र भूमिका निर्वाह गर्यो। राष्ट्रिय राजनीतिमा थोरबहुत राष्ट्रवादी चिन्तन र छविको निर्माण गर्न सफल रह्यो। तर कहिल्यै ऊ आफू सग्लो र डल्लो रहिरनचाहिँ सकेन। नियतिले नै राप्रपालाई टुटफुट र विभाजनको गोलचक्करमा परिरहनको लागि गठन गरेको जस्तो देखियो। लामो अनुभव र सक्रियताको कारण यसको मौलिक पक्षलाई परिमार्जन नगरीकन अब सतहमा समाधान खोजेर एकीकरण हुन सक्ने देखिँदैन। राप्रपा र राप्रपा प्रजातान्त्रिक अब दुई राजनीतिक दल भएका छन्।

राप्रपासँग १७ जना सांसदहरु रहेका छन् भने राप्रपा प्रजातान्त्रिकसँग १९ जना सांसद रहेका छन्। चोथो ठूलो राजनीतिक दल अब संसद्को सम्भवतः छैटौं र सातौं दलको रुपमा सूचीकृत हुनेछन्। आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा यी दुईवटै दलले चुनौतीपूर्ण परिणामको सामना गर्नुपर्ने देखिन्छ नै।

नेपालको राजनीतिको वर्तमान अवस्थालाई विश्लेषण गर्ने हो भने अब नेपालमा नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी नै प्रमुख राजनीतिक दलको रुपमा स्थापित हुने संकेत स्थानीय तहको निर्वाचन परिणामले दिएको छ। भोलिको निर्वाचनमा पनि यी नै राजनीतिक दलहरुको ५–१० स्थानको तलमाथिमा पहिलो, दोस्रो र तेस्रो हुने सम्भावनालाई औंल्याउन सकिन्छ। नेपालको संविधान २०७२ पछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने क्रममा स्थानीय तहको निर्वाचनपछि त्यसले मजबुतीकरण प्राप्त गरेको छ। अब सम्भवतः मंसिर महिनामा प्रदेशसभा र संघीय संसद्को निर्वाचनपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको पर्याप्तरुपमा संस्थागत विकास भइसक्नेछ। यसपछि नेपालले दिगो शान्ति र आर्थिक समृद्धितर्फ आफूलाई अगाडि बढाउन नै प्रमुख एजेन्डा बनाएर काम थाल्नुपर्ने परिस्थिति निर्माण हुनेछ। यस अवस्थामा देशमा प्रमुख राजनीतिक दल मधेसवादी दलहरुको भूमिका महत्वपूर्ण र जिम्मेवारीपूर्ण रहने देखिन्छ। यस परिप्रेक्ष्यमा राप्रपा र राप्रपा प्रजातान्त्रिकले आफ्नो स्थान र भूमिकालाई अहिलेदेखि नै सुरक्षित र संरक्षित गर्नुपर्ने देखिन्छ। इतिहासले अनेकपटक मौका र अवसर दिँदा पनि त्यसको बचाउ र जगेर्ना गर्दै पार्टीको संस्थागत विकास गर्न नसक्नु पूर्वपञ्चहरुको असफलता नै हो। तर असफलता नै सफलताको जननी हो भनेझैँ यसबाट पाठ सिक्दै नयाँ सोच, नयाँ शैली र नवीन जिम्मेवारीका साथ अगाडि बढ्न सके राप्रपा प्रजातान्त्रिकको एक हदसम्म सम्भावना र अवसरको स्थिति देखा पर्न सक्छ। किनभने राप्रपा प्रजातान्त्रिकले परिवर्तनलाई आत्मसात् गरेर जनतालाई एकमात्र विकल्प मानी अगाडि बढ्न खोजेको उसका प्रारम्भिक दस्ताबेजले देखाइरहेको छ। यो नै अन्तिम निष्कर्ष र विश्लेषणचाहिँ होइन, हेरौं समय व्यतीत हुँदै जाँदा यसले आफूलाई कसरी अगाडि बढाउँछ ? त्यो भने हेर्न बाँकी नै छ। समय नै एउटा महान् विश्वविद्यालय हो भनेझैँ राप्रपा प्रजातान्त्रिकका नेताहरुले समयबाट उचित शिक्षा र सन्देश लिएर अगाडि बढ्न सके, आफूलाई परिमार्जन र संशोधन गरेर अगाडि बढे भने समयको कसीमा फेरि एकपटक खरो र सग्लो उत्रिन सक्नेछन्। देशको भरपर्दो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न सफल रहनेछन् भन्ने आशा गर्न सकिन्छ।
(लेखक गिरी पत्रकार एवं राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य हुनुहुन्छ।)

LEAVE A REPLY