औचित्यहीन जम्बो मन्त्रिमण्डल



 

 

जम्बो मन्त्रिमण्डल बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि आलोचित हुनुभएको छ । मन्त्रिमण्डलमा मंगलबारसम्म मन्त्री र राज्यमन्त्री गरी ५० जनाको संख्या पुगेको छ । प्रधानमन्त्रीसँग अझै उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय बाँकी छन् । भारत भ्रमणलगत्तै अन्य दलहरुलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको योजना रहेको छ । प्रधानमन्त्रीसँग बाँकी रहेका मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्ति गर्दा मन्त्रिमण्डलको संख्या ५८ पुग्ने देखिन्छ । बाँकी रहेका सबै मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्ति गर्दा इतिहासकै जम्बो मन्त्रिमण्डल हुनेछ ।

नेपालमा मन्त्रालयको संख्या १२–१५ भन्दा बढी हुन नहुने भन्ने सुझाव आइरहेको बेला नयाँ संविधान जारी भएपछि पहिलाको केही मन्त्रालय फुटाएर मन्त्रालयको संख्या बढाइएको थियो । नयाँ संविधानमा मन्त्रिपरिषद्को संख्या बढीमा २५ हुने उल्लेख गरिएको छ । प्रदेश र संघको निर्वाचनपछि बन्ने मन्त्रिपरिषद्मा यो व्यवस्था लागू हुने हो । संविधानको भावनाअनुरुप अघि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको दायित्व हो । राजनीतिक संक्रमणकालको मौकामा बाध्यात्मक अवस्था हैन भन्दै अनावश्यक जम्बो मन्त्रिमण्डल गठन गर्नाले संविधानको भावना विपरीत हुने मात्र हैन राज्यमा समेत ठूलो आर्थिक भार पर्ने गरेको छ । देउवा नेतृत्व सरकारमा थप भएका २३ राज्यमन्त्रीको लागि मात्र मासिक राज्यको १० करोड रुपियाँभन्दा बढी खर्च हुने बताइएको छ । यसअघि मन्त्रालय छुट्याउँदा मन्त्री र सचिव बस्ने कार्यालयको समेत अभाव भैरहेको भन्दै आलोचित समाचारहरु नियमित प्रकाशित भैरहेका थिए । एउटै भवनमा तीन मन्त्री, तीन राज्यमन्त्री र चारजना सचिव बस्नुपर्ने अवस्था छ ।
जम्बो मन्त्रिमण्डललाई तलब भत्ता, आवास सुविधा, सुरक्षा, गाडी, चालक, सचिवालयलाई कर्मचारी, इन्धन, बिजुली, पानी, टेलिफोन आदिमा मात्र हुने खर्च विकास निर्माणमा लगाउने हो भने दुई–चार वर्षमा ठूला–ठूला आयोजना सम्पन्न हुन सक्छन् । नौ–नौ महिनामा परिवर्तन भैरहने सरकार र त्यो सरकारमा सामेल हुने जम्बो मन्त्रिमण्डलको संख्याले बाटोमा हिँड्दा पनि कुम ठोक्किने मन्त्री नै हो कि भन्ने अवस्था आइसकेको छ । प्रशासन चलाउने कर्मचारीहरुले हो, नीति निर्माण र नेतृत्वका लागि यति धेरै मन्त्री अचाक्ली नै भयो । अतः औचित्यहीन जम्बो मन्त्रिमण्डल बनाएर आलोचित हुने कामलाई निरन्तरता नदिएकै भए राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्