तीजलाई तीजजस्तै बनाऔं



 

तीजमा दोहोरी गीत कि रत्यौली गीत ? जताततै यस्तै सुनिन्छ। तीजका गीत त बजारमा पाइँदैनन्। पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन्। संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप भएको छ। मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्नेजस्तो भइसकेको छ। कित रत्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको छ ? तीज आउनु डेढ महिनाअघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन् तर तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो छ।

तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आएको छ। तीजको गीतमा यसरी विकृति फैलनुमा सञ्चारमाध्यमकै हात र कमजोरी पनि देखिन्छ। जस्तो पायो त्यस्तो गीतलाई प्राथमिकता दिँदा पनि समस्या आएको छ। तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका छन्। यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन्। त्यसैले पनि विकृति थप मौलाएको छ।

पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ। संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन्। प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला। तर, यही कारणले संस्कृति मास्न हुँदैन। यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ। निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाऊलान्, सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएको देखिएको छ। सरकारले त मौलिक गीतको संवद्र्धन गर्नुपर्ने हो। पहिले देवीदेवताका नामकरण गरेर गीत गाउने चलन थियो। सुख, दुःख र पीडाका गीतहरू गाइन्थे। अहिलेका मान्छेको अगाडि त्यस्तो गीत गाए के गाएको होला भन्ने प्रवृत्ति छ। संगीतको क्षेत्रमा यो भन्दा ठूलो विकृति हुनै सक्दैन।

तीजका गीतमा चेलीको मर्म, दुःख, सुख, खुशी, उमंग र दैनन्दिनको जिन्दगीका सास्तीहरू हुनुपर्छ। तर यहाँ मनलाग्दी पाराले परिवार सँगै बसेर हेर्न नसक्ने खालका धेरै गीत आएका छन्। अहिले एक–अर्काको देखासिकीले पनि विकृति बढेको जस्तो लाग्छ। गीतमा शिष्टता नै छैन, मनपरि छ। शब्दचयन पनि मनपरि छ। तीज पारिवारिक चाड हो तर यति बेला बजारमा आएका गीत परिवारसँग बसेर हेर्नलायक छैनन। गीतमा हाम्रा व्यावहारिक पक्ष समेटिनुपर्छ तर त्यसो नभएको मैले पाएको छु।

हुन त परिवर्तन हरेक थोकको विशेषता हो। समयक्रमसँगै सामाजिक, राजनीतिक व्यवस्था त फेरिन्छ भने गीत–संगीतमा परिवर्तन नआओस् भन्ने कामना आफैंमा अप्रगतिशील हुन सक्छ। हिजोजस्तै आज पनि तीज गीत भन्नासाथ बुहारीहरूको गुनासो र रोइकराइ हुनुपर्छ भन्नु उचित नहुन सक्छ। प्रश्न यत्ति हो, परिवर्तित समयलाई आधुनिक तीज गीतले कत्तिको सम्बोधन गर्न सकेका छन् ? त्यसमा विशेष ख्याल गर्नु जरुरी छ। श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिकाको विषयमा बनेका अधिकांश तीज गीतले सम्बन्धको खिल्ली उडाएका छन्। जाँडरक्सी, गहना, पहिरन, मोबाइलजस्ता विषयमा हल्का गीतहरू बनेका छन्। तीजको नाममा कति गीत बनेका छन् ? कुनै रेकर्ड छैन। गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म भएको खर्चको हिसाब राख्ने कुनै आधिकारिक निकाय पनि छैन। विडम्बना के हो भने, यो खर्चले हाम्रो संस्कृतिलाई थोरै भए पनि जगेर्ना गर्नुको साटो झनै कमजोर बनाइरहेको छ। पैसा खर्च गरेपछि जो–कोही पनि कलाकार बन्न सक्छन् भन्ने मान्यताले जरो गाड्दै गएकाले पनि कलाकारमा बजारकेन्द्रित सोच बढी र सामाजिक उत्तरदायित्व कम हुँदै गएको देखिन्छ।

अरू बेलामा आफ्ना कथाव्यथा पोख्न नपाएका महिलाले तीजका अवसरमा मनको भाव व्यक्त गर्ने मौकाका रूपमा तीज मनाइँदै आएको छ। अहिले महिलाहरू सक्षम भएका छन्। उनीहरूलाई पहिलाको जस्तो समस्या नहोला तर समाजमा अझै थुप्रै विषय ज्यूँकात्यूँ छन्, सधैँ रुने–रुवाउने गीत गाएर पनि साध्य हुँदैन। अबको तीज गीत दुःखमा रहेका, हरेस खाएका महिलालाई प्रेरित गर्ने खालको हुनुपर्छ। पहिले मेलापात गर्ने महिलालाई माइत जाने र मीठोमसिनो खाने, दुःखसुख पोख्ने चाडको रुपमा थियो तीज। तर अहिले कामकाजी महिलाका लागि कार्यव्यस्तताबाट फुक्का भएर दिदी–बहिनीसँगको जमघट र रमाइलो गर्ने पर्व हो तीज। विशेष गरी महिलाले नै यो विषयमा ध्यान दिनु जरुरी छ।
– शीतल मायालु, काठमाडौं

प्रतिक्रिया दिनुहोस्