आयल निगमद्वारा प्रक्रिया पुर्याएर भ्रष्टाचार



 

उत्तम नेपाल, भद्रपुर
पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले झापामा जग्गा खरिद गर्दा प्रक्रिया पुर्याएर भ्रष्टाचार गरेको पाइएको छ। निगमले झापाको मेचीनगर नगरपालिका–१३ दुहागढीमा खरिद गरेको जग्गा बुधबार बिहान अनुगमनमा खटिएका सांसद्हरूले बताएपछि यस्तो पाइएको हो।

व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले खरिद गरेको जग्गामा अनियमितता भए⁄नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न भन्दै सांसद तथा समितिका सदस्यद्वय दीपक कार्की र रामवीर मानन्धर स्थलगत अनुगमनमा आएका थिए। यो विधि र प्रक्रिया पुर्याएर गरिएको भ्रष्टाचार भएको अनुगमनपछि झापाका सांसद दीपक कार्कीले बताए। १० बिघा जग्गाले पुग्ने ठाउँमा २४ बिघा जग्गा लिएकोमा शंका रहेको कार्कीको भनाइ छ। निगमले २४ बिघा १ कठ्ठा १० धुर जग्गाको टेन्डर आह्वान गरी २३ बिघा ३ कठ्ठा १३ धुरको कारोबार गरिसकेको उनले बताए। निगमले बिचौलियासँग मिलेर करोडौं रुपियाँ घोटाला गरेको सांसद कार्कीले आरोप लगाए। आयल निगमलाई मानव बस्ती विकास हुने ठाउँमा जग्गा खरिद नगर्न भनिए तापनि भविष्यमै मानव बस्ती विकास हुने स्थानमा निगमले जग्गा खरिद गरेको उनले बताए। कसैको ७ बिघा, कसैको १ बिघा, कसैको ३ बिघा गरेर खरिद गरिएको उनले जनाए।

साविक दुवागडी गाविसमा पर्ने यो जग्गा खरिदका लागि निगमले दलाल प्रयोग गरेको पाइएको छ। आयल निगमले प्रतिकठ्ठा साढे १३ लाख ५१ हजार रुपियाँको दरमा जग्गा किनेको भए पनि स्थानीयलाई भने चुपचाप बस्न भन्दै ४ देखि ७ लाख रुपियाँ प्रतिकठ्ठा दिइएको अनुसन्धानमा पाइएको उनको ठहर थियो। जग्गा खरिदमा झन्डै ३० करोड रुपियाँ घोटाला भएको पाइएको छ। अनुगमनपछि काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले १३ लाख ५१ हजार रुपियाँ दरको जग्गा नभएको बताए। निगमले उचित स्थानमै जग्गा खरिद गरेको भए पनि कागज मिलाएर अनियमिता गरेको उनको भनाइ छ। पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि पायक पर्ने ठाउँमै जग्गा खरिद गरे पनि हालिएको दरभाउ भने बेठीक भएको उनको भनाइ छ। यो विषय अख्तियारमा पनि पुगेकाले आफूहरूको प्रतिवेदनका आधारमा अख्तियारले कारबाही गर्नेमा आफू आशावादी रहेको मानन्धरले बताए। उनीहरूले मंगलबार र बुधबार जग्गाको अध्ययन तथा अनुसन्धान गरेका बताए। अनुगमन टोलीलाई झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले साथ दिएका थिए।

३ बिघा जग्गा बेचेका स्थानीय अर्जुनकुमार कार्कीले आयल निगम हो कि थर्ड पर्सन हो भन्ने मलाई थाहा नभएकाले र भाउ फेरि पाइन्न भनेर मेरो दाइको जग्गा बेचिदिएको बताए। ४ लाख ४० हजार रुपियाँ प्रतिकठ्ठाले ३ बिघा जग्गा आफूले निरज थपलिया भन्ने व्यक्तिलाई पास गरिदिएको उनले सुनाए। उनका अनुसार निरज थपलियाले नेपाल इन्भेस्टमेन्ट बैंकको चेक दिएर जग्गा खरिद गरेका थिए।

आयल निगमका चारआली डिपो प्रमुख सनम कार्कीले यो ग्लोबल टेन्डर भएकाले हामीलाई केही पनि थाहा नभएको बताए। स्वीकृत र अस्वीकृत गर्ने काम पनि केन्द्रकै भएकाले शाखा कार्यालयलाई यसबारे सम्पर्क नै नगरेको उनले बताए। विज्ञ र खरिद कमिटीको टोली आएर सबै प्रक्रिया पूरा गरेको र आफूहरू संलग्न नरहेको उनले बताए।

झापा मालपोतका अनुसार निगमले १५ जनाबाट जग्गा किनेको छ। मालपोतका अनुसार चिरञ्जीवी मरासैनी, निरोजकुमार थपलिया, विष्णुमाया कार्की, भीमादेवी मरासैनी, कमलमाया बस्नेत, अनिलकुमार कार्की, भानु मरासैनी, नमिका कार्की, छत्रबहादुर कार्की, राम मैनाली, रमेश गौतम, गोमाकुमारी बस्नेत, नारायण मरासैनी, विष्णु कार्कीलगायत छन्।

प्रतिक्रिया दिनुहोस्