अझै १० हजार छुटे



 

रुकुम, (नेस)
फोटोसहितको मतदाता नामावली संकलनको अवधिमा रुकुममा १० हजार बढी नयाँ मतदाता थपिएका छन्। गएको साउन १ गतेदेखी भदौ ३ गते सम्म रुकुममा १० हजार १ सय १ जनाले नामावलीमा नाम दर्ता गराएका हुन्। नामावलीमा नाम दर्ता गराउनेमध्ये ५ हजार १ सय २७ महिला र ४ हजार ९ सय ७४ पुरुष रहेका छन्। त्यस्तै ९७ जनाले त्रुटि सच्याएका छन् भने २ सय २७ जनाले ठाउँ सारी गरेका छन्। जसअन्तर्गत २ सय १९ जनाले जिल्ला बाहिर र ८ जनाले जिल्लाभित्रै ठाउँ सारी गराएका हुन्।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमको अन्तिम समयसम्ममा एक जनाले मात्र नामावलीबाट नाम हटाएको जिल्ला निर्वाचन कार्यालय रुकुमले बताएको छ। यसपटक थपिएका नयाँ मतदाता सँगै रुकुममा अब १ लाख १२ हजार ३४ मतदाता रहेका छन्।

मतदाता नामावली संकलन जिल्ला निर्वाचन कार्यालय रुकुम र सम्बन्धित स्थानीय तहका विभिन्न केन्द्रमा पुगेर गरिएको थियो। रुकुममा अझै १० हजार जति मतदाताले नामावलीमा नाम दर्ता गराउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्