दोरम्बामा बढेका अपेक्षा



स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरु चुनिएसँगै नागरिकमा निकै आशा र अपेक्षा निकै बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो गाउँपालिका र नगरपालिका कस्तो बनाउने भन्ने योजना बनाउन लागिपरेका छन्। स्थानीय तहमा आवश्यक पर्ने विकासका पूर्वाधार, सडक, खानेपानी, विद्युत्, स्वास्थ्य शिक्षालगायतका आधारभूत सुविधा कसरी पुर्याउने ? भन्ने चिन्ताले जनप्रतिनिधिहरुलाई बढी सताउने गरेको छ। सडक, विद्युत्, स्वास्थ्य र खानेपानीलगायतका विकास निर्माणको माग अत्यधिक हुने गरेको रामेछाप जिल्ला दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान बताउनुहुन्छ।

‘आवश्यकता धेरै छ, गाउँपालिकाको साधन स्रोत सीमित छ’, मोक्तानले भन्नुभयो– ‘लामो समयपछि जनप्रतिनिधिहरु गाउँघरमा नै पाउँदा नागरिक खुसी छन् तर आवश्यकता असीमित छन्।’ उहाँले गाउँपालिकाको विकासको प्राथमिकता निर्धारण गरेर नीति तथा कार्यक्रमको साथै बजेट विनियोजन गरेको बताउनुभयो।

दोरम्बा गाउँपालिकामा हाल ७ वटा वडा रहेका छन्। गाउँपालिकाको केन्द्र टोकरपुरबाट वडा कार्यालयको केन्द्रसम्म पुग्ने सडकलाई हिउँद वर्षा नै सञ्चालन गर्न गाउँपालिकाले योजनालाई पहिलो प्राथमिकतामा राखेको छ।

दोरम्बा गाउँपालिका कृषि, पर्यटन, धार्मिक, ऐतिहासिक र सांस्कृतिकरूपमा धनी मानिन्छ। तर, उचित स्रोत र साधन नहुँदा अपेक्षाअनुसार विकास हुन नसकेको दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘प्राकृतिक स्रोत र साधनमा हाम्रो गाउँपालिका धनी भए पनि हामीले यसलाई सही ढंगले सदुपयोग गर्न सकेका छैनौं, अब गाउँपालिकाले योजना बनाएर नै काम अगाडि बढाउने सोचेका छौं।’

दोरम्बा गाउँपालिका ऐतिहासिक भूमि पनि हो। २०६० साल साउन ३२ गते युद्धविरामको समयमा दोरम्बामा बैठक बसिरहेको घरलाई तत्कालीन शाही नेपाली सेनाले कब्जामा लिएर २१ जना माओवादीको सामूहिक हत्या गरेको थियो। दोरम्बा गाउँपालिकाको विभिन्न वडामा होमस्टे पनि सञ्चालन गरिएको छ। गाउँपालिकामा विशेष गरी आलु खेती, सुन्तला खेती र किवी खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ। गाउँपालिकाभित्र आलु र किवी खेती अहिले व्यवसायिकरूपमा सञ्चालन भएको छ। सैलुङ क्षेत्रमा पाइने जडिबुडीको अहिले पनि उचित व्यवस्थापन हुन नसकेको दोरम्बा गाउँपालिका–७ का वडा अध्यक्ष रेम थापा बताउनुहुन्छ।

यस आर्थिक वर्षका लागि दोरम्बा गाउँपालिकाले २६ करोड रुपियाँको बजेट विनियोजन गरेको छ। २२ हजार ७ सय ८० जनसंख्या रहेको दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउनका लागि कृषि, पर्यटनलाई नै पहिलो आधार बनाइएको गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो।

गाउँपालिकाको सबै वडाहरुमा सडक पुगेको छ। तर, सबै क्षेत्रमा सहजरूपमा यातायात सञ्चालन गर्न भने कठिनाइ नै छ। अधिकांश क्षेत्रमा विद्युतीकरण भए पनि केही क्षेत्रमा विद्युतीकरणको काम बाँकी छ। दोरम्बा गाउँपालिकालाई केही समयभित्र नै उज्यालो दोरम्बा बनाउने योजना गाउँपालिकाले अगाडि सारेको गाउँपालिका उपाध्यक्ष कृशला घिसिङ बताउनुहुन्छ। निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार नै गाउँपालिकाको विकास गर्न लागिपरेको बताउँदै उपाध्यक्ष घिसिङले भन्नुभयो– ‘जनताले विश्वास गरेर विजयी पनि गराउनुभएको छ, जनताको विश्वासलाई कायम राख्दै योजनाबद्धरूपमा गाउँपालिकाको विकास गर्ने योजना अगाडि सारेका छौं।’

गाउँपालिकाले आर्थिक वर्षको बजेटमा सडकको स्तरोन्तिका लागि धेरै बजेट विनियोजन गरेको छ। जुन बजेटले हिउँद–वर्षा नै सहजरूपमा गाउँपालिकाभित्र यातायातको उपभोग गर्न पाउने व्यवस्था गर्न लागेको उपाध्यक्ष घिसिङ बताउनुहुन्छ। दोरम्बा गाउँपालिकाको सबै वडामा विद्युतीकरण भएपनि वडा नम्बर १ को साविकको ६, ७ र ८ वडामा विद्युत् अझै पुग्न सकेको छैन। गाउँपालिकाले उज्यालो दोरम्बा अभियानअन्तर्गत विद्युतीकरणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ।

‘पर्यटक भित्त्याउनका लागि भौतिक पूर्वाधारको काम पहिलो सर्त हो। सैलु· धार्मिक हिसाबले पनि धेरै महत्त्व बोकेको ठाउँ हो दोरम्बा’ –उपाध्यक्ष घिसिङले भन्नुभयो।

गाउँपालिकाको ४ वटा वडालाई कृषि पकेट क्षेत्रको रूपमा घोषणा गरेर नै काम गर्ने नीति तथा कार्यक्रम बनाएको छ। अब गाउँपालिकाले सैलुङ दोरम्बाको आलु भनेर अभियान सञ्चालन गरेर नै देशका विभिन्न शहरमा पुर्याउने लक्ष्य लिएको छ। आलु खेती गर्न चाहने कृषकका लागि विशेष गरी अनुदान दिने, बीउ उपलब्ध गराइदिने, गाउँपालिकामा फलफूल खेतीको क्षेत्र छनोट गरेर काम अगाडि बढाउने योजना बनाएको गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो।

गाउँपालिकाको १ र २ नम्बर वडामा किवी खेतीको राम्रो सम्भावना रहेको छ। किवीलाई पनि पकेट क्षेत्रको रूपमा अगाडि बढाउने अनुमान गाउँपालिकाले लिएको छ। गाउँपालिकाभित्र उत्पादन हुने तरकारी र फेलफुललाई बजारसम्म पुर्याउने काम अब गाउँपालिकाले नै गर्ने सोच बनाएको उपाध्यक्ष घिसिङले बताउनुभयो।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनतालाई सुविधा दिनका लागि एम्बुलेन्स खरिद गर्नका लागि बजेट छुटयाएको छ। गाउँपालिको केन्द्र र हरेक वडाको केन्द्रमा फ्रि वाइफाइका लागि बजेट नै विनियोजन गरेर वाइफाइ जडानको काम अगाडि बढाउने योजना बनाएको उपाध्यक्ष घिसिङले बताउनुभयो। उहाँको भनाइ थियो– ‘भदौ महिनाभित्र दोरम्बा गाउँपालिकाको केन्द्र र वडाको कार्यालयमा फ्रि वाइफाइ सञ्चालनमा ल्याउछौं।’

प्रतिक्रिया दिनुहोस्