गाउँ कार्यपालिका बैठकमा आक्रमणको निन्दा



 

नेपाल समाचारपत्र
धादिङ
थाक्रे गाउँ कार्यपालिकामा दुई दिनअघि भएको सांघातिक आक्रमणको जिल्लामा क्रियाशील विभिन्न निकायहरूले मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा गरेको छ।

ज्ञापनपत्र बुझाउने बहानामा गाउँ कार्यपालिकाको बैठक चलिरहेको स्थानमा नेकपा माओवादी केन्द्रका नेता सोही गाउँपालिकाका पराजित उम्मेदवार यन्त्रबहादुर थापाको नेतृत्वमा गाउँपालिकाभित्र प्रवेश गरी आक्रमण गरिएको थियो।

आक्रमणबाट गाउँ कार्यपालिकाका सदस्य कुमार बैरागी, गाउँपालिकामा काममा आएका सोही गाउँपालिका–१० का ४२ वर्षीय शिवहरि बास्कोटा र वडा नं. ११ का ३२ वर्षीय जीवन तामाङ घाइते भएका छन्। घाइते बास्कोटाको मनमोहन अस्पताल काठमाडौंमा उपचार भइरहेको अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भयो। घटनामा गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अर्याल बसेको कुचीसमेत लगाएर आक्रमण गरिएको थियो। गाउँपालिकामा मानिसहरू घाइते भएको र उनीहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालयमा तत्काल गाउँपालिकाबाट खबर गरिएको भए पनि प्रहरीले समेत बेवास्ता गरेको र ढिला गरी घटनास्थल आएर घाइतेहरूलाई प्रहरीले दुःख दिएको गाउँपालिका प्रमुख रामकुमार आचार्यद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सो घटनामा गाउँपालिका कार्यालय तोडफोड गरिनुका साथै गाउँपालिकामा सेवा लिन आएका सर्वसाधारणलाई समेत हातपात गरिएको थियो। घटनामा संलग्नलाई सार्वजनिक अपराध एन अन्तर्गत मुद्दा चलाइ कारबाही गर्न उजुरी गरिने र नागरिकको सुरक्षाको लागि गाउँपालिका स्तरबाटै पहल गरिने गाउँपालिका उपाध्यक्ष अम्बिका रूपाखेतीले बताउनुभयो। गाउँपालिकाको बैठक कक्षमा प्रवेश गरी गरिएको आक्रमणको विरोध गर्दै अपराधीलाई कारबाही गरी सुरक्षाा दान गर्न युवा संघ नेपालले प्रेश विज्ञप्तिमार्फत् आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्