राजपा बैठक, चिह्न र उम्मेदवारबारे छलफल



 

काठमाडौं, (नेस)
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पदाधिकारीहरूले निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी अध्यक्ष मण्डललाई दिएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दुई दिनसम्म चलेको बैठकले चुनावमा जाँदा पार्टीको चिह्न र उम्मेदवार चयनको प्रक्रियाबारे निर्णय लिने जिम्मेवारी अध्यक्ष मण्डललाई दिएको महासचिव केशव झाले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महासचिव झाले भन्नुभयो– ‘पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनको पक्षमा बोलेका छन् भने अध्यक्ष मण्डलका सदस्यहरू पनि निर्वाचनको विरोधमा देखिनु भएको छैन। त्यसकारण हामी निर्वाचनमा जाने सुनिश्चित जस्तै भएको छ। तर यसको आधिकारिक निर्णय गर्ने जिम्मेवारी अध्यक्ष मण्डललाई दिइएको छ।’

यता राजपाका प्रवक्ता कृष्णा सिंहले पनि राजपा निर्वाचनमा जाने निश्चित भएको बताउनुभएको छ। उहाँले पदाधिकारी बैठक सकिए पनि कुनै निर्णयमा पुग्न नसकिएको बताउनुभयो। उहाँले चुनाव चिह्नलगायतका विषयमा अहिलेसम्म सहमति भइनसकेको बताउनुभयो। सिंहले भन्नुभयो– ‘हामी निर्वाचनमा जाने निश्चित भएको छ। चुनावी घोषणा पत्र र चुनाव चिह्नका विषयमा थप छलफल हुन बाँकी रहेको छ। त्यो अध्यक्ष मण्डललाई जिम्मेवारी दिइएको छ।’

 

राजपाका अध्यक्ष मण्डलको बैठक अबेर रातिसम्म पनि चल्ने छ। बैठकमा चुनाव चिह्न के राख्ने विषयमा छलफल हुँदा साइकल अथवा तिरको विषयमा सहमति जुट्ने सम्भावना रहेको छ। त्यस्तै, चुनावी तालमेलका विषयमा पनि अध्यक्ष मण्डलमा छलफल भइरहेको बुझिएको छ। स्रोतका अनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुँदै छ।

प्रतिक्रिया दिनुहोस्