अनुसन्धान विभागको शैलीबाट बेरोजगार युवा हैरान



 

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहमा आह्वान गरेको पदमा उम्मेदवारी दिन दुई जना सरकारी कर्मचारीको अनिवार्य सिफारिस मागेपछि उम्मेदवारहरू अन्योलमा परेका छन्। अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदका लागि दरखास्त भर्दा दुई जना अधिकृतस्तरका सरकारी कर्मचारीको विभागले हस्ताक्षर खोजेपछि उम्मेदवारी दिन योग्य भएकाहरू अन्योलमा परेका पाइएका छन्। विभागले निकालेको विज्ञापनमा उम्मेदवारको चारित्रिक सिफारिस पनि गर्नुपर्ने अनौठो व्यवस्था गरिएको छ।

उम्मेदवारी दिन विभागको कार्यालय सिंहदरबार पुगेका रविन पौडेलले नेपाल समाचारपत्रसँग भने– ‘म सबै डकुमेन्ट बोकेर दरखास्त भर्न विभाग पुगें। मैले चिनेको सरकारी अधिकृत तहको कर्मचारी कोही पनि छैनन्। फेरि भए पनि कसरी मेरो चारित्रिक अवस्थाको बारेमा बुझ्नुहोला र एकैछिनमा ? सरकारले दुई जना अधिकृतको हस्ताक्षर गर्ने भनेको छ। कसलाई हस्ताक्षर गर्न लगाउने अलमलमा छु।’ सयौं उम्मेदवारको दरखास्त विभागले बुझ्न नमानेको उम्मेदवारहरूले गुनासो गरेका छन्। विभागले प्रकाशन गरेको सूचनाको ४ नम्बर बुँदामा नेपाल सरकारको दुई जना राजपत्रांकित अधिकृतबाट राम्रो चरित्रको सिफारिस प्राप्त गरेको भन्ने विषय उल्लेख छ।

अनुसन्धान विभागले गत साउन २६ गते अनुसन्धान अधिकृतका लागि २२ जना र अनुसन्धान सहायक पदमा ३३ जना गरी ५५ जनाको दरखास्त आह्वान गरेको थियो। उम्मेदवारहरूले आफूहरू दरखास्त दिनबाट वञ्चित भएको भन्दै विभागमा निवेदन दिएको बताएका छन्। पीडितहरूले भने– ‘यो त भित्रैका हाकिम र तिनले चिनेका मान्छेलाई जागिर खुवाउने तरिका जस्तो मात्रै भयो।’

प्रतिक्रिया दिनुहोस्