आधा दर्जन संस्था पोषणमा काम गर्ने, कुपोषण घट्दैन



सन्तोष अधिकारी, गोरखा । गोरखामा हरेक बार खाना चार को नारा खुबै सुनिन्छ । तर कुपोषणको अबस्था भने नारा घन्काइए जस्तो छैन । खाद्यन्नको चरम संकट समेत हुने गोरखाको पोषण तथा स्वास्थ्य स्थिती सुधार गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाहरु क्रियाशिल छन् ।

भूकम्प पछि त त्यस्ता संस्थाहरु गोरखा भित्रने लडह नै चल्यो । भूकम्पका बेला गोरखा आएका संघसंस्थाहरु अहिले केहि मात्र गोरखामा क्रियाशिल छन् । गोरखामा पोषणको अबस्था सुधार गर्न भूकम्प अघि देखि क्रियाशिल भनेको सुआहारा कार्यक्रम मात्रै हो ।

यूएसएआइडीको आर्थिक सहयोगमा सञ्चालन सुआहारा कार्यक्रमको पहिलो चरण सकिएर दोस्रो चरणको कार्यक्रम चलिरहँदा पनि जिल्लामा कुपोषणको दर जति घट्नु पर्ने हो त्यति नघटेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा जम्मा ९१८ जनालाई कुपोषण भएको पाइएको छ ।

करिब ६० जना कुपोषणकै कारणले उपचाररत छन् ।
‘कुपोषणको दर केहि घटेपनि कुपोषित भएकाहरु हुनुन्छ’ जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका पोषण अधिकृत नवराज खड्काले भने ‘आर्थिक वर्ष भरिमा अति सिघ्र कुपोषण ३१ जना वालवालिकामा भेटिएको छ ।

त्यस्तै ३८३ जना वालवालिकामा मध्यम सिघ्र कुपोषण देखियो ।’ उनका अनुसार गर्भवती तथा सुत्केरी महिलाहरु पनि धेरै जनामा नै कुपोषण देखिएको खड्काले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर ५०४ जना गर्भवती तथा सुत्केरी महिलाहरुमा कुपोषण लागेको भेटिएको छ ।
सुआहारा सँगै नेफेग, एनट्याग, हेल्थ फर लाईफ लगायतका संस्थाहरु गोरखाको पोषण अबस्था सुधार गर्न भनि क्रियाशिल छन् । गाउँगाउँमा कुपोषणको दर घटाउन र सरसफाई सम्बन्धी ज्ञान दिन भनि जिल्लामा क्रियाशिल रहेको सुआहारा कार्यक्रम जिल्लाको तत्कालीन ६० वटा गाविस तथा हालको नौ गाउँपालिका र एक नगरपालिकामा क्रियाशिल छ । सुआहारा कार्यक्रम गोरखाका प्रमुख यम जिसीले भने जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डलाई दोस लगाए ।
‘अपेक्षा गरे अनुसारको रिजल्ट नआएको हुन सक्छ’ उनले भने ‘तर पनि जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार नभई फरक हुन सक्छ त्यत्तिको संख्यामा कुपोषित छैनन् भन्ने हाम्रो रिपोर्ट छ । सोचे अनुसारको रिजल्ट नआउनुको कारण चाहीँ हाम्रो काम गर्ने कर्मचारी थोरै भयो ।

एक गाविस एक मान्छे भए हुन्थ्यो । दुई वटा गाविस सम्म एक कर्मचारीले हेर्नुपर्छ ।’ अहिले सुआहाराले कुपोषण भएकाहरुलाई रिफर गरी के गरे कुपोषण लाग्दैन भनेर काउन्सीलिङ गर्ने गरेको जिसी बताउँछन् । पोषण सम्बन्धी काम गर्ने संस्थाहरुले एक आपसमा समन्वय नगर्दा समस्या नघटेको हो ।
त्यस्तै अहिले पोषण सम्बन्धी मात्र काम गर्ने संस्था एनट्याग हो । भूकम्प गए लगत्तै गोरखा आएको सो संस्थाले पनि पोषणको सुधारको क्षेत्रमा काम गरिरहेको भएपनि प्रगति देखिँदैन । सबै संस्थाहरुले पोषणको क्षेत्रमा काम गरे पनि उल्लेख्य प्रगती नआएको जिल्ला जनस्वास्थ्य कार्यालय बताउँछ ।

प्रतिक्रिया दिनुहोस्