व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नेता पौडेलको आग्रह



काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउन महासङ्घलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।

“राष्ट्रिय एकतालाई बलियो बनाउन पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ,”–वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकको विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले त्यहीअनुसार सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारका समस्यालाई समाधान गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले पत्रकारले आफ्नो धर्मअनुसार व्यवसायी मूल्य मान्यतालाई निभाएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासङ्घलाई साझा संस्थाका रुपमा अगाडि बढाउने बताउँदै महासङ्घ सबैको हो भन्ने अनुभूति दिलाउने गरी काम गर्ने स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेता पौडेलले नवनिर्वाचित कार्यसमितिलाई माला लगाएर सम्मान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्