बार्सिलोनाद्वारा नेइमारविरुद्ध मुद्धा दायर, १ अर्ब माग



एजेन्सी,
पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार विरुद्ध पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्धा दायर गरेको छ । बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दर्ता गरेको बताइएको छ ।

पिएसजी जानुभन्दा ९ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए । बार्सिलोनासँग गरेको सम्झौता पूर्ण नभएकाले क्लबले नेइमारलाई दिएको बोनस फिर्ता गर्न माग गरेको बताइएको छ ।

बार्सिलोनाले नेइमारसँग झण्डै १ अर्ब नेपाली (८५ लाख मिलियन युरों) फिर्ता मागेको छ । नेइमारसँग बार्सिलोनाले पैसा फिर्ता गर्न ढिलाई गरेको भन्दै १० प्रतिशत थप रकम मागेको छ ।

बार्सिलोनाले यदि नेइमारले त्यो रकम तिर्न नसकेमा यसको जिम्मेवारी पिएसजीलाई लिन आग्रह गरेको छ । तर पिएसजीले भने बार्सिलोनाको व्यवहारबाट अचम्ममा परेका बताएको छ । पिएसजीले नेइमारले सबै कानूनी प्रकिया पालन गरेर नै आएको भन्दै बार्सिलोनाको व्यवहारप्रति पश्चाताप व्यक्त गर्नुबाहेक केही गर्न नसकिने जनाएको छ ।

बार्सिलोनाले अगस्ट ११ मा बार्सिलोनाको लेबर ट्रिब्युनलमा नेइमारविरुद्ध मुद्धा दर्ता गरेको छ । पिएसजी गएकासँगै बार्सिलोनाले नेइमारको २६ मिलियन लोयल्टी बोनस पनि रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्