प्रधानमन्त्री देउवा दिल्लीमा, विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागत



नेपाल समाचारपत्र, काठमाडौ ।
भारतको राजकीए भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुग्नुभएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नुहुनेछ ।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुहुनेछ ।

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्