साधारण सभामा सकारात्मक निर्णय



विशेष साधारण सभामा बोल्नु हुँदै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी। मन्त्री केसीले सभाको उदघाटन गर्नुहुँदै एक खेल एक संघ हुनु पर्नेमा जोड दिनुभयो। तस्वीरः हाम्रो खेलकुद डट कम

 

नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरिएको विशेष साधारण सभामा विवादित विषयमा आयोजककै अनुसार विधान संसोधन भएको छ। क्यान निलम्बित भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा गठित सल्लाहकार समूहसँग हिजो निर्वाचित क्यानले छलफल गरेको थियो। निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले छलफल सकारात्मक भएको बताए। उनले नेपाल समाचारपत्रलाई बताए– योभन्दा बढी सकारात्मक अरू हुँदैन। यदि विवाद गरिरह्यो भने झनै गाह्रो हुनेछ। केही निर्णयहरू भए त्यसमा हामी सन्तुष्ट छौं।

विशेष साधारण सभामा निर्वाचित क्यानको १७ केन्द्रीय सदस्यले चुनावी साधारण सभामा स्वतः उम्मेदवार हुन पाउने निर्णय भयो। यसअघि ३१ को संख्या भएकोमा यो घटेर १७ केन्द्रीय सदस्य भएको हो। निर्वाचित क्यानका प्रतिनिधिले नयाँ विधान लागू भएपछि चुनावका लागि हुने साधारण सभामा केन्द्रीय समिति सदस्य स्वत सहभागी र उम्मेदवार हुन पाउनुपर्ने अडानमा थिए। निर्वाचित क्यानको मत अधिकार छाड्न र अन्तमा ३१ को सट्टा १७ जना मात्र सहभागी हुनेमा स्वीकार गरियो।

महासचिव प्याकुरेलका अनुसार अर्को अनुमोदन सरकार र राष्ट्रिय खेलकुद परिषद्बाट सातजना साधारण सभामा सिफारिस गर्न सकिनेछ। जबकी राखेपले यसमा १० जनाको संख्या सिफरिस गर्न पाउने दाबी गरेको थियो। यस्तै संक्रमणकाललाई पनि छोट्याएको छ। पहिले ६० दिन, ९० दिनभित्र प्रदेशको अधिवेशन भइसक्नुपर्ने समय अवधिलाई छोट्याएको थियो। तर हिजो यो समयअवधि घटाएर ४५ दिनमा जिल्ला, त्यसको ३० दिनभित्र प्रदेशमा अधिवेशन भइसक्नुपर्ने निर्णय सभाले लियो।

यसै गरी क्यानमा उम्मेदवार दिन शैक्षिक योग्यता तोकिएकोमा अब यो साधारण सभाले शैक्षिक योग्यता नै आवश्यक नहुने भनेर निर्णय लिएको छ। यो निर्णयपछि क्यानको अध्यक्ष र महासचिव बन्न शैक्षिक योग्यता पनि नचाहने भएको छ। यस्तै सदस्यता शुल्क पनि आधा घटाइएको छ। सदस्यता शुल्क तीन हजारबाट घटाएर नयाँ शुल्क १५ सय रुपियाँ तोकिएको छ। यी अनुमोदन भएका विधान राखेपमा पेश हुनेछ।
क्यान आईसीसीबाट २०७३ वैशाखमा निलम्बित भएपछि निर्वाचित क्यान, राखेप र नेपाल सरकार नेपाली क्रिकेटलाई बचाउन छलफलमै लागिरहेका छन्।

निर्वाचित क्यानसँगै राखेपले तदर्थ समिति गठन गरेपछि नेपाली क्रिकेटमा विवाद त्यहींबाट शुरु भएको थियो। दुबै क्यानमा मिल्ने कुनै छाँटकाँट नभएपछि आईसीसीले क्यानलाई निलम्बित गरेको थियो। गत महिना क्यानको विधानबारे बुझ्न आएको आईसीसीको प्रतिनिधिले यही अगस्ट २६ सम्म क्यानलाई विधान संसोधन गर्न समयअवधि तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्