रहलपहल



 

पत्रकार महासंघको चुनावको रहलपहल अझै पनि धरहरा वरपर देखिएका छन्। एउटा संगठनका कार्यकर्ता आफ्नै साथीले अन्तर्घात गरेको किस्सा सुनाउँदै भन्दै थिए– ‘बाटोमा आउँदा मासु नखाउँ अलिअलि पैसा राजधानीमा चाहिन्छ भन्दा त्यसले होइन मटन खाऔं भन्यो। भोट हाल्ने बेलामा अर्कै संगठनकोलाई हालेछ। फोटो खिचेर ल्याऊ है भनेको थियो। अहिले मोबाइल नै बिग्रियो भन्दै छ। धोकेबाज।

केहीले मेरो हात काटिए पनि म फलानो उम्मेदवारलाई भोट हाल्दिन भन्दै हिंडेको कुरासमेत बाहिर आए। केहीले चाहिं आफ्नै संगठनलाई नहाली एक छापे मत हाल्न लगाएको कुरा पनि आयो। अनि कतिपयले चाहिं आफ्नो संगठनको अध्यक्षको उम्मेदवारलाई भोट नहाली अरूलाई मात्रै हालेको कुरा पनि आयो। पत्रकार पनि राजनीति गर्न चाहिं माहिर नै रहेछन् बा, धरहराका छेउमा आएका एकजना गणनास्थलमा रहेका पत्रकारले भन्दै गरेको सुनियो। धरहरालाई भने सबैको जय होस् भन्नबाहेक अरू केही पनि भन्न मन लागेन है पाठकबृन्द।

 

प्रतिक्रिया दिनुहोस्