तीज गीतमा म्चायुअल एकेडेमी विजयी



 

प्याब्सन काठमाडौंअन्तर्गत रहेको म्याचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले राजधानीमा आयोजना गरेको तीज गीत प्रतियोगितामा कन्स्टिलेसन एकेडेमी गार्डेन हाइस्कुल विशालनगर विजयी भएको छ।

प्रतियोगितामा सरस्वतीनगरस्थित गोल्डेन पिक हाईस्कुल र गौशालास्थित सम्भावी हाईस्कुल क्रमशः दोस्रो र तेस्रो भए। सहभागी विद्यालयको प्रस्तुतिलाई सांस्कृतिक संस्थानका नृत्य प्रशिक्षक सीता कार्की, माया थापा र सुशीला थापाले मूल्यांकन गरेका थिए।

प्रतियोगितामा वानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार जितेको थियो। विजेता विद्यालयलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन्। सो अवसरमा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहभागी विद्यालय एवं विद्यार्थीलाई शुभकामना दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गर्न मद्दत पुर्याउने बताए।

प्रतिक्रिया दिनुहोस्