चीनद्वारा पाकिस्तानको प्रतिरक्षा



 

बेइजिङ, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई आश्रय दिइरहेको बारे अमेरिका लामो समय चुप लागेर नबस्ने बताएपछि चीनले मंगलबार आफ्नो गठबन्धन पाकिस्तानको प्रतिरक्षा गरेको छ।
ट्रम्पले यसरी निरन्तर रूपमा आतंककारीहरूलाई सहयोग र समर्थन गरिरहेको खण्डमा पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका थिए। सोमबार ट्रम्पले अमेरिकाले अफगानिस्तानमा थप फौज परिचालन गरी लामो समयदेखि चलिरहेको युद्धको परिणाम आफ्नो पक्षमा पार्ने संकेत दिएका थिए।

साथै उनले आफगान सरकार, पाकिस्तान, भारतलगायत उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूलाई १६ वर्ष लामो अफगान युद्धलाई अमेरिकाको पोल्टामा पार्न थप सहयोग गर्न आह्वान पनि गरेका छन्। तर उनले पाकिस्तानका लागि भने तीता शब्दहरू पोखेका छन्।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि आणविक शक्ति सम्पन्न पाकिस्तानले आतंककारीहरूलाई आश्रय दिने नछोड्ने हो भने अमेरिकाले दिँदै आएको सुरक्षा सहयोग कटौती हुन सक्ने बताएका छन्। राजनीतिक विश्लेषकहरूले पाकिस्तानले आफ्नो पुरानो प्रतिद्वन्द्वी छिमेकी मुलुक भारतलाई वशमा राख्नका लागि तालिवानजस्ता लडाकूहरूलाई प्रयोग गर्न सकिने सोच राख्ने गरेको बताउँने गरेका छन्।

ट्रम्पको भाषण बारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका महिला प्रवक्ता हुवा चुनयिंगले पाकिस्तानले आतंकवाद विरुद्ध अग्र मोर्चामा बसेर लड्दै आइरहेको र उक्त लडाइँको दौरान पाकिस्तानले महान त्याग र महत्त्वपूर्ण योगदान दिइरहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्