बार्सिलोना भ्यान आक्रमण, भ्यान चालक अबुयाकुब प्रहरीको गोली प्रहारमा मारिए



 

बार्सिलोना, (एजेन्सी)
बार्सिलोना आक्रमणमा भ्यान चालक भएको आशंका गरिएका युनुस अबुयाकुब खोजीका क्रममा प्रहरीको गोली प्रहारमा मारिएको जनाइएको छ।

प्रहरीले अबुयाकुब नै भ्यान चालक भएको बताएका थिए। जसले बार्सिलोनाको लास राम्ब्लास इलाकामा सर्वसाधारणमाथि गाडी चलाएका थिए। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने कम्तिमा १ सय जना घाइते भएका थिए।

एक सूचना पाएपछि बार्सिलोनाको पश्चिममा प्रहरीले घेराबन्दी गरेको र त्यहाँस्थित एक प्रहरी चौकी नजिकै गोली लागेपछि अबुयाकुबको मृत्यु भएको हो। अबुयाकुबले त्यतिबेला एउटा नक्कली विस्फोटक बेल्ट लगाएको सञ्चार माध्यमहरूले जनाएको छ। उनले ‘अल्लाह हु अकबर’ भन्दै चिच्याएको समाचारमा उल्लेख गरेको छ।

घटनास्थलमा बम निशस्त्र पार्ने टोली पुगेको र रोबोटबाट विस्फोटक बेल्टको जाँच गरिएको थियो। त्यसपछि आधिकारिक रूपमा अबुयाकुबको पहिचान भएको पुष्टि गरिएको थियो।

यसअघि स्पेनका प्रहरीले बार्सिलोना हमलाका संदिग्ध चालकको पहिचान २२ वर्षीय युनिस अबुयाकुबका रूपमा गरिएको थियो। नयाँ सीसीटिभी फुटेजमा अबुयाकुब भाग्दै गरेको देखिएका थिए।

अर्कोको एक हमलामा एक महिलालाई गाडीमा चक्कु प्रहार गरी हत्या गरिएको थियो। गत सोमबार अधिकारीहरूले युवालाई भड्काइ राख्ने एक इमामको मृत्यु भएको जानकारी दिएका थिए। इमामको मृत्यृ बम बनाउने गरेको एक स्थानमा भएको थियो। उनकै अनुयायी युवाहरूले नै बार्सिलोनाको घटना घटाएको बताइएको छ।

स्थानीय अखबारले अबुयाकुबको तीन तस्वीर प्रकाशित गरेका थिए। जसमा उनी स्थानीय बजारबाट निस्कँदै गरेको देखिएका थिए।

प्रहरीले अबुयाकुबका थुप्रै तस्वीर सार्वजनिक गरेका छन् र नागरिकलाई पक्रनमा मद्दत गर्न अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्