चुनावमा जान राजपाभित्र तीव्र दबाब



संशोधन असफल हुनुमा कांग्रेसको पनि हातः ठाकुर

बीपी साह, काठमाडौं
संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएपछि राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठकमा चुनावी रणनीतिबारे छलफल हुँदै छ।

मंगलबारदेखि पार्टी कार्यालयमा शुरू भएको बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव राख्दै चुनावी रणनीति बनाउन नेतृत्वलाई आग्रह गरेका थिए।

बैठकमा सहभागी ९६ जना पदाधिकारीमध्ये ५७ जनाले बोलेको राजपाका महासचिव राजिव झाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भइरहेको छ। तर आज बोल्ने अधिकांश पदाधिकारीहरूले निर्वाचनमा सहभागी हुने बताउनुभएको छ। मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ।’

यता अर्का महासचिव केशव झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी निर्वाचनमा जान तयार छ। निर्वाचनको रणनीतिका बारे छलफल हुँदै छ।’

बैठकको शुरूमा पार्टी संयोजक महन्थ ठाकुरले विषय प्रवेश गराउँदै संविधान संशोधन फेल गराउनमा कांग्रेसको पनि हात रहेको आरोप लगाउनुभएको थियो। ठाकुरले संशोधन विधेयक फेल भएपछि सहयोगी शक्ति र विरोधी शक्ति पहिचान भएको बताउँदै उनीहरूलाई मधेस जनताले दण्डित गर्ने दाबी गर्नुभयो। पक्षमा मतदान गर्नेलाई ठाकुरले धन्यवाद दिनुभएको थियो।

बैठकमा संविधान संशोधन फेल भएपछि संसद्बाट राजीनामा गर्नुपर्ने मागसमेत उठेको महासचिव झाले बताउनुभयो। उहाँले संसद्बाट राजीनामा गरी आन्दोलनमा जाने पक्षमा पनि केही पदाधिकारी रहेको बताउनुभयो।

यता बैठकमा निर्वाचनमा जाने पक्ष बलियो देखेपछि अध्यक्ष मण्डलका सदस्य अनिल झाले पदाधिकारी बैठक बहिष्कार गर्नुभएको छ। झा निर्वाचनमा सहभागी नहुने पक्षमा छन्। तर संविधान संशोधन विधेयक फेल भएपछि अधिकांश पदाधिकारी निर्वाचनको पक्षमा देखिएका छन्।

आयोगको प्रस्ताव दुई चरणमा चुनाव गरौं

काठमाडौं, (नेस)
निर्वाचन आयोगले व्यवस्थापनको कठिनाइले गर्दा मंसिर १० गते तोकिएको निर्वाचन दुई चरणमा गराउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने भएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो। सरकारले प्रदेश र प्रतिनिधिसभाको मिति तोक्नुभन्दा अघि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलहरूसँगको छलफलमा मंसिर १० को निर्वाचन दुई चरणमा पनि हुनसक्ने भनाइ राखेको थियो।

सो भेटमा भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई लक्षित गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले चुनौतीलाई मध्यनजर गर्दा दुई चरणमा निर्वाचन हुन सक्ने बताउनुभयो।

निर्वाचनको तयारी र व्यवस्थापनमा विविध जटिलता रहने, कथंकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमासमेत निर्वाचन गराउनुपर्ने अवस्था रहन सक्ने स्मरण सरकारलाई गराउने निर्णय भएको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो।

‘संविधानसभाको निर्वाचनको बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिउँ परेको थियो। अहिले पनि त्यो सम्भावना छ, प्राकृतिक चुनौती आइपरे हामी दोस्रो चरणमा जानैपर्छ।’ –यादवले भन्नुभयो। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनिवार्य हुने बताउँदै सो बैठकले त्यससम्बन्धी कानुन एवं क्षेत्र निर्धारण आयोगको प्रतिवेदन शीघ्र आयोगमा उपलब्ध गराइदिन सरकारलाई पत्र लेख्ने निर्णय गरेको पनि जानकारी दिनुभयो।

‘अहिलेसम्म निर्वाचन कानुन आइसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आइसकेको छैन। हामीलाई निर्वाचनको तयारीको लागि पनि पर्याप्त समय दिइएको छैन। नियन्त्रणबाहिरको परिस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुनसक्छ।’ –यादवले भन्नुभयो।

आयोगले अहिलेको चुनावमा मतपत्रको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भएको भन्दै दुईवटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा लागेको जनाएको छ। यादवले दलहरूले नै नमानेकाले आगामी निर्वाचनमा पनि भोटिङ मेसिनको प्रयोग नहुने पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्