ललितपुरमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बन्ने



 

ललितपुर, (नेस)
ललितपुरको नख्खुस्थित मंगलमार्गमा अन्तर्राष्ट्रियस्तरको बौद्ध ध्यान केन्द्र निर्माण हुने भएको छ। निकट भविष्यमै निर्माण शुरु गर्न लागिएको सो अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माणका लागि समाजसेवी पुष्परत्न शाक्यको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिको गठन भइसकेको समितिका कोषाध्यक्ष रामकृष्ण महर्जनले जानकारी गराउनुभएको छ।
समितिको दुई उपाध्यक्षमा क्रमशः रामकाजी अवाले र अजरमान जोशी, महासचिवमा सुनील महर्जन, सचिवमा राजेश महर्जन र सदस्यहरूमा शोभा शाक्य, जयराम ताम्राकार र अनिल महर्जन रहेका छन्।

ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले डिजाइन गर्नुभएको नेपाली कला झल्किने यस बौद्ध ध्यान केन्द्रको २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ। वौद्ध ध्यान केन्द्रको निर्माणसम्बन्धी कानुनी र प्रशासनिक कार्य सम्पन्न भई नेपाल मर्चेन्ट बैंकमा खाता खोली चन्दा संकलन कार्यसमेत शुरु भइसकेका कारण अब निकट भविष्यमै यसको निर्माण थालनी हुने निर्माण समितिका कोषाध्यक्ष महर्जनले बताउनुभएको छ।

यस ध्यान केन्द्रको औपचारिक शिलान्यास नेपालका लागि म्यानमारका राजदूत ल्विन ओओकोले २०७४३ चैत २ गते गर्नुभएको थियो। ललितपुर गाःबहाल निवासी दाता दशलाल डंगोल र उहाँकी श्रीमती राममाया डंगोलले दान गर्नुभएको १ रोपनी १ आना जग्गामा बन्ने यस ध्यान केन्द्रको निर्माणपछि विदेशबाट आउने बौद्ध धर्मावलम्बीहरूका लागि आरामदायी आश्रम र ध्यान गर्ने सुविधा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्